साच्चिकै हामी कृषि क्षेत्रको उत्थान गर्न, शुद्ध दूध-दही, हरियो तरकारी खान चाहन्छौं र कृषकको पनि हितमा सोच्न खोज्छौं भने बिचौलियाको माध्यमबाट होइन सिधै कृषकसंग गोरस र तरकारी खरिद गरौँ । दूध-दही किसानबाटै लिन खौजौं । यसबाट दोहोरो हित र वास्तविक श्रमजीवी किसानको कर्मको मूल्य लेनदेन हुनेछ !
किसानले पनि गोरस तयार गर्न र तरकारी उब्जाउन पसिना चुहाउन धौ नमानेजस्तै हाट बजार या घरघरमा लगेर उत्पादन बेच्न लाज नमानौं । यसले तपाईंको मेहनतको फल सही ठाउँ पुग्छ र मोल पनि राम्रो हुनेछ । उपभोक्ताले सहजरूपमा उत्पादित सामाग्री पाए तपाईंको पेसा पनि दिगो हुनेछ ।
भारतीय तरकारीमा बिसादी छ, भारतीय कुखुरामा भिटामिन र एन्टिबायोटिक धेरै प्रयोग हुन्छ भन्छौं, सचेत भएरै त्यो भन्छौं । हुन त विषादी र भिटामिन बिना ठुलो उत्पादन कठिन नै हुन्छ तर हामीले सिधै खरिद गर्ने स्थानीय उत्पादनमा त्यसरी धेरै प्रविधि र रासायनिक मल विषादी र एन्टिबायोटिक अवश्य नहोला किनकि हाम्रो र स्थानीय उपभोक्ताको नजिकको सम्बन्ध रहन्छ र उत्पादनमा हाम्रो नजर परेको हुन्छ, स्थानीय कृषकले ठुला व्यवसायी र बिचौलियाले जस्तो अशोभनीय हर्कत पनि अवश्य गर्दैनन् ।
हो अलिकति तुलनात्मक रुपमा स्थानीय उत्पादन महगो पर्नसक्ला तर ताजा पनि त हुन्छ नि !गफले, आश्वासनले, भाषणले कृषि सुध्रिन्न । स्थानीय उत्पादनमा हाम्रो सरोकार बढन जरुरी छ, हाम्रो माया र हातेमालो अपरिहार्य छ, स्थानीय उत्पादनमा ध्यान दिन अग्रसरता देखाओैं ।