सुगर बिरामी: खानाको महत्त्व र बानी व्यवहार !

समाचार

नेपालगंज: हाम्रो समाजमा सुगर, डायबिटिज या मधुमेह रोग लागेका मानिसहरु धेरै छन् । सुगर भएपछि के खान हुन्छ र के खान हुँदैन, के कस्तो व्यायाम गर्ने भन्ने सबैलाई जिज्ञासा हुन्छ । यसबारे हामी सबैलाई राम्रो जानकारी हुनुपर्छ । सुगरका विरामीले के खान हुन्छ र के हुँदैन भन्नेबारे यहाँ केही कुरा राखेको छु, थप जानकारी खोजी पढ्ने गरौँ ।

सुगर लाग्नु भनेको हाम्रो पेट नजिकै रहेको प्यान्क्रियाज ग्रन्थीले हाम्रो शरिरलाइ चाहिने जति मात्रामा इन्सुलिन हर्मोनको उत्पादन र प्रयोग गर्न नसक्ने अवस्था हो । यसले गर्दा हामीलाई सुगर वा मधुमेह रोग लाग्ने गर्छ । सुगर भएमा आँखा, मुटु, किड्नी, नशा, प‌ैताला, लगायत शरीरका विभिन्न अंगलाई असर गर्छ र कामै नलाग्ने बनाउन सक्छ । यी अङ्गलाई लामो समय स्वस्थ राख्न र ती अङ्गमा असर नहुनका लागि खानपानमा ध्यान दिनु पहिलो प्राथमिकता हो ।

हामीले खाएको हरेक खाना ग्लुकोजमा परिणत हुन्छ र शरीरलाई इनर्जी दिन्छ।  मधुमेह भइसकेपछि भने उक्त ग्लुकोज इनर्जीको रुपमा परिणत हुन सक्तैन वा थोरैमात्र परिणत हुन्छ । यसकारण हाम्रो शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । यसबाट बच्न सुगरका विरामीले दैनिक हुने खानपान के कस्तो बनाउने सो कुरामा ध्यान दिनुपर्छ ।

सुगर बिरामीको राम्रो आहारा के हो ?

सामान्य घरको दैनिक खानामा पुरानो र खैरो नफलेको चामल, उसिना चामल या ब्राउन चामलको भात एकछाक र गहुँ वा जौको रोटी एकछाक खानुपर्छ । दैनिक खानासंग हरियो साग तरकारी र पातलो दाल, थोरै दूध या दही खानु आदर्श खाना मानिन्छ, कहिलेकाही उसुनेको मासु खानु पनि राम्रो मानिन्छ । खानापछि थोरै फलफूल खाने गर्नुपर्छ यसले पचाउन र भोक बढाउन अनि रोगसँग लडन सहयोग गर्छ । हाम्रो नेपाली परम्परागत भान्सा पनि यही हो । डाक्टर र विज्ञले पनि सुगरका बिरामीको लागि यस्तै खाना राम्रो मान्दछन।

दालमा बोक्रा भएको र अंकुर निस्केको राम्रो मानिन्छ, सागमा सकभर आफ्नो बारीको नभए रासायनिक मल र बिसादी नभएको खोज्नुपर्छ । बजारको फलफूल पनि बिसादी छरेर राख्ने गरिन्छ, राम्रोसँग पखालेर खानुपर्छ । पाउन सके ड्राइ फलफुल काजु, ओखर, बदाम, ममफली, नरिवल, फर्सीको बियाँ पनि खानु राम्रो मानिन्छ । काँचो सलाद या मुला, काक्रो, गाँजर, प्याज, टमाटर, कागती जस्ता खानेकुरा पनि थोरैमात्रामा खान हुन्छ, फाइदा गर्छ । यस्ता खानामा प्रसस्त फाईबर हुने हुदा पाचन प्रक्रिया ठिक हुन्छ, भोक जगाउछ र सुगर लेभललाई बढन दिदैन, कम गर्दै लैजान्छ । स्याउ, सुन्तला, आँप, केरा, बेलौती जस्ता फलफूल थोरै मात्रामा एकपटकमा एउटा वा १५० ग्रामसम्म खाँदा पाचन प्रक्रिया ठिक हुन्छ र सुगर बिमारीलाई फाईदा हुन्छ, तर बढी भने खानुहुदैन ।

सुगर बिरामीले के खाने के बार्ने ?

शरीरलाई चाहिनेभन्दा बढी मात्रामा कृतिम गुलियो जस्तो चिनी, कोक, पेप्सी, सर्बत, गुलियो चिया कफी मिठाइँ, आदि नखानु राम्रो हो । यी सिधै गुलियो हुने खाना खाएमा सुगर बढछ। तसर्थ सिधै ग्लुकोज दिने वा चिनी बढाउने खाना खाँदै नखानु उचित हुन्छ ।

खानेकुरा खाँदा एकैपटक धेरै नखाने, पटक-पटक खाने र समय समयमा खाईरहने गर्नुपर्छ । डाक्टरले भन्छन सुगरका विरामीले जहिले पनि उचित समयमा र चार घण्टाको फरकमा गुलियो बाहेकका रुचिअनुसारको थोरै थोरै खाना खानुपर्छ ।

सुगरका बिरामीले थप के खाने के नखाने ? 

सुगरका बिरामीले के खाने माथि चर्चा भएको छ, त्यो बाहेक अरु खाने र नखाने कुरामा पनि ध्यान दिनुपर्छ । खासगरी सिधै गुलियो या चिनी पाइने खाना कहिल्यै पनि खानुहुँदैन । मेथी, तुलसीको पात, लहरे गुर्जोले सुगर घटाउछ तर प्रेसर घटाउने हुदा जोखिम पनि हुन्छ, तसर्थ खाए पनि निकै कम मात्रै खानुपर्छ । सितलचिनी वा सजिवन सुगरका लागि राम्रो मानिन्छ । यसको फल, पात बोक्रा सबै राम्रो हुन्छ। यसको नियमित चिया खानु राम्रो मानिन्छ । सिजनमा फलको तरकारी अचार र पातको चिया सधैभरी खान सकिन्छ । सिस्नु पनि सुगरका लागि राम्रो मानिन्छ । सिस्नुको सुप खाने, सिस्नुको धुलोलाई दालमा मिसाएर खाने, वा तरकारीमा मिसाउन पनि सकिन्छ । तेल मसला कम भएको मासु, अण्डा, पनिर पनि राम्रो हुन्छ । पानी धेरै पटक पिउनु पर्छ, हरेक नास्ता या खाना पछि र पटकपटक गरि दिनमा ८-१० पटक ८-१० गिलास पानी पिउनुपर्छ ।

सुगर भएमा खानै नहुने कुरा केके हुन ?

सिधै गुलियो हुने मिठाइँ, जुस, सर्बत, कोक, फ्यान्टा, घ्यु, बजारको तेल, धेरै चिल्लो, तारेको, तेलमा भुटेको, बर्गर, चिज, पिज्जा, केक, गुलियो बिस्कुट, चाउचाउ, जस्ता तयारी बासी र प्याकेजमा राखेका खानेकुरा र चाँपेर राखेको अचार, धेरै मसला, चुरोट सुर्ती, रक्सी, बियर आदि सकेसम्म पुरै बार्नुपर्छ ।

सुगरका बिरामीले के गर्ने के नगर्ने ?

सुगरका विरामीले पटकपटक तर थोरै हिँड्ने, हलुका व्यायाम गर्ने, हलुका काम गर्ने, चलायमान हुने, कुटो कोदालो गर्ने, खन्ने जोत्ने गर्न सकिन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । तर भोकै पेट हिडने दौडने, कडा एक्सर्साइज गर्ने, लामो मर्निङ वाक गर्ने, जङ्गल जाने गर्नु हुदैन, धेरै वजन बोक्ने गर्नु हुदैन, यसले चक्कर आउने र बेहोस हुने जोखिम हुन्छ ।

सुगर बिरामीले थप जान्नुपर्ने कुरा:

डाक्टरले भने अनुसारको ओैषधि समयमै खाने, समय समयमा ब्लड सुगर जाच्ने र छ-छ महिनामा अन्य अवस्थाको ल्याब जाँच गराउनुपर्छ ।
भोकै नबस्ने, एकैचोटि बढी पनि नखाने, पटकपटक सफापानी पिउने, कतै हिडदा एक दुईवटा चकलेट साथमा राख्ने, भोक चक्कर लाग्दा खाने, जुत्ता अनिवार्य लगाउने, घाउ चोटपटक हुन नदिने, सुगर-कार्ड बनाउने र साथमा राख्ने गर्नुपर्छ ।
समय समयमा डाक्टर, स्वास्थ्य कर्मी वा जानेको मानिसको सल्लाह लिने गर्नुपर्छ ।

लेखक:RN Rupa pokhrel को सहयोगमा बिष्णु पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *