काठमाडौँ : गृहमन्त्रालयले परिपत्र गर्दै कुनै कारणले एकल महिला वा विवाह अघि जन्म भएको तर बाबुको पहिचान र ठेगान नभएको बच्चा जन्मिए वा एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने कार्यविधि बनाएर जारी गरेको छ ।
यसैगरी विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने उल्लेख छ ।
यसरी बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गरिदिनु पर्नेछ ।
सो वाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन सहित), २०७७ र विभागको यसअघिका परिपत्रअनुसार गर्न गराउन सबै जिल्ला प्रशासन, इलाका प्रशासन, स्थानीय तह (पालिका)का सबै ६७४३ वडाहरुलाई परिपत्र गरेको छ ।