सांसद सञ्जय कुमार गौतमको सत्याग्रह आठ दिनमै सहमति

समाचार

आबेश पौडेल बुटवल: लोकतन्त्रमा आन्दोलन गर्न पाउनु अधिकार हो । तर हामी कहाँ आफ्नो माग पुरा गराउनका लागि गरिने आन्दोलनले अरूलाई पुगेको असरका बारेमा खासै चर्चा हुँदैन । नेपालमा गरिने अधिकांश आन्दोलनको शैली भौतिक क्षति पुर्याउने देखि अरुको अधिकार हनन् गर्ने खालको देखिन्छ । तर अरु कसैलाई कुनै बाधा अड्चन नपु¥याएर आन्दोलन गरेर पनि माग पुरा हुन्छ भन्ने उदाहरण बर्दियाका एक जना सांसदले प्रमाणित गरेका छन् ।

बर्दियाको क्षेत्र न १ बाट प्रतिनिधिसभामा चुनाव जितेका सांसद सञ्जय कुमार गौतमले सदन र सडकमा पटक पटक आवाज उठाउँदा पनि माग पुरा नभएपछि नयाँ जुक्ती रचे । त्यो हो सत्याग्रह । उनले बर्दियाको बबई नदीको ववण्डरबाट स्थानीय जनतालाई सास्ती भएको तर सरकारले ध्यान नदिएको भन्दै पटक पटकको प्रयास असफल भएपछि अनसन बस्ने योजना बनाए । हुन त माग पुरा गर्न सडक आन्दोलन गर्नु पर्ने माग उनीसँग नआएको होइन । तर यस्तो आन्दोलनले तिनै जनतालाई नै सास्ती हुने भएकाले उनी त्यसबाट पछि हटे । अनि योजना बनाए कि बबई नदीले भत्काएर अलपत्र बनेको जब्दीघाट पुलमै टेण्ट राख्न लगाए र केही सहयोगीसहित अनसनमा बसे ।

बर्दियाको जब्दीघाटमा रहेको बबई नदीमाथि भासिएको पुल लामो समयदेखि अलपत्र पर्दै आएको छ । भत्किएको पुलको संरचना हटाएर नयाँ पुल बनाउनु पर्ने माग लामो समय देखि भइरहेको थियो । त्यसैगरी सोही क्षेत्रमा बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बबई सिँचाइ आयोजनामा बजेट थप्नुपर्ने, बर्दियाको भुरिगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण हुनु पर्ने जस्ता माग स्थानीयहरुको थियो । तिनै माग पटक पटक आफूले खल्तीमा बोकेर सिंहदरबार चाहार्दा कतै सुनुवाई नभएपछि अन्तत सांसद गौतम जिल्ला फर्किएर सत्याग्रह बस्नु पर्ने बाध्यता आईलाग्यो । अनि बर्दियाका नागरिकहरुका विभिन्न १५ बुँदे माग सहितको ब्यानर बनाएर पुलमा गाडेर अनसन थाले ।

हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने नारा तय गरेर अनसनमा बसेका गौतम ५ दिनपछि निकै कमजोर बने । बर्दिया बचाउँछु भन्ने सांसद नै बच्ने हुन् कि होइनन् भन्ने अवस्था उनको स्वास्थ्य बिग्रियो । उनी माग पुरा नहुँदासम्म स्वास्थ्य उपचारका लागि समेत जान तयार भएनन् । त्यसपछि बर्दियाका नागरिकहरु पनि सांसदको मागमा समर्थन गर्दै अनसन स्थल पुगे । अनि सरकार पनि अनसन स्थलमै पुगेर गौतमका माग पुरा गर्न तयार भयो । सहमति भयो । आन्दोलन भयो । उपलब्धिहरु पनिभए तर कसैलाई यो आन्दोलनले असर पुगेन । जुन अरु आन्दोलनकारीहरुका लागि उदाहरण बन्यो ।

पटक पटक सदनमा कुरा उठाए पनि ७ वर्षदेखि भत्किएको पुल बनाउन सरकार तयार नभएपनि बाध्यतावस अनसन वस्नु पर्ने भएको अनसनमा संगै रहेका लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले बताए । उनले भने – पप्पु कन्सक्टक्सनले अलपत्र पारेको पुल भत्किएर नदीको बहाव नै वस्ती तिर फर्किएको छ, ठूलो क्षति हुने भएपछि अनसन भन्दा अरु हामीसँग विकल्प रहने अनि अनसनको विकल्प भएन । यहाँ धेरै समस्या थिए भन्दा भन्दै थाके पछि यता लागेका हौं । सहमति पछि सरकारले तत्काल माग सुनुवाई गर्नेमा हामी आशावादी छौं ।ु

पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको केही महिनामै जब्दीघाटको पुल २०७४ साल साउनमा भासिएको थियो भने ०७९ साल असोज २० गते बबई नदीमा आएको बाढीले पुल बगाएको थियो । बाढीले आधा भत्किएको पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडक खण्डमा गाडी आउजाउ बन्द छ ।

आठ दिनपछि कांग्रेस सांसद गौतमले अनसन तोडेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँगको ११ बुँदे सहमतिपछि गौतमले आठौँ दिनमा शनिबार अनसन तोडेको प्रदेश सांसद चौधरीले बताए । मन्त्री ज्वालाले जुस खुवाएर उनको अनसन तोडाएका थिए । अर्को रोचक त के भने काँग्रेस सांसद गौतमको आन्दोलनमा सर्वदलीय समर्थन जस्तै थियो । उनलाई हौसला दिन प्रत्येक दिन सबैको पार्टीका नेता कार्याकर्तादेखि जनप्रतिनिधिहरु अनसन स्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *