सम्पादकीय: मलामीमा अतुलनिय सहनशीलता हुन्छ । जति दुख, पीडा, सास्ती परे पनि सुबिधाको लागि दवाव आउदैन, योजनाको माग आउदैन र गुनासो पनि गरिदैन मलामीबाट ।
अत्यन्तै चर्को घाम होस या अविरल वर्षा, कठ्याङ्ग्रिदो जाडो होस या महामारीको अवस्था, जुनसुकै परिवेशमा पनि मलामी जानै पर्छ, अन्तिम संस्कारको अर्को कुनै पनि विकल्प हुदैन ।
यो सिधनिया घाट लाखौंको अन्तिम संस्कार घाट हो । यो बाँके जिल्लाको प्रमुख घाट पनि हो । राप्ती नदी किनारमा रहेको यस घाटमा बगेको अस्तु अन्य नदिमा नमिसिइकन सिधै गंगाजीमा पुग्ने भएकाले पनि कतिपय समुदायका प्रवुद्धले यसलाई बढी महत्त्व दिएको पाइन्छ । हाम्रो समाजका हजारौं ख्यातिप्राप्त महानुभाव, जनप्रतिनिधि देखि सामान्य नागरिकको अन्तिम संस्कार यहीं गरिएको छ ।
यस महत्त्वपूर्ण घाटमा एउटा पानीको धारो छैन, घामपानी छल्ने सामान्य टिनको छानो छैन । छानो,पानी र सहुलियतमा दाउराको व्यवस्थापन गर्न सके मलामीलाइ राहत हुनेथियो । यसमा ध्यान दिन जनप्रतिनिधि ज्युहरु र समाजसेवी महानुभावहरुमा आग्रह छ । बरु सय पचास हजार चन्दा उठाउनु परे पनि उठाओैं, भ्यु-टावर र स्वागत गेटको बजेट कटौती गर्न परे कटौती गरौँ । यति गर्न सके मलामीलाइ राहत र महाप्रस्थान गर्ने स्वर्गीय आत्माप्रति वास्तविक रुपमा भावपुर्ण श्रद्धाञ्जली हुनेछ ।