किसानको दुखेसोः बजारको फोहोरले उत्पादनमा ह्रास

समाचार

रुपन्देही । बुटवल बजार क्षेत्रबाट निस्किने फोहोरले खेतियोग्य जमिन प्रदूषित बनाउँदै आएको पाईएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक क्षेत्र मानिने बुटवलबाट निस्कने फोहोरहरु सोह्र छत्तिस र सुखौरा खोला हुँदै मद्राहनी मौजा कुलोबाट किसानहरुको खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीयहरु चिन्तित हुँदै आएका छन् । शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लाग्ने, खेती गर्दा धारिला सिसाजन्य र अस्पतालका फोहोरमा सिरिन्ज समेत भेटिने गरेकाले खुट्टामा गढ्ने समेत खतरा बढ्नुको साथै गाईवस्तु पनि बिरामी गर्ने गरेको तिलोत्तमा नगरपालिका–११ मद्राहानी मौजाका किसान ज्ञान बहादुर कार्कीले बताए ।

बुटवल उपमहानगरले बजार क्षेत्रमा हरेक दिन फोहोर संकलन गरेपनि तर कतिपयले सुखौरा र सोह्रछत्तिस खोलामै फोहोर फाल्ने गर्छन् । तिनै फोहोर बग्दै गाउँको खेतबारीसम्म आइपुग्ने तिलोत्तमा नगरपालिका वडा न–११ गणेशनगरका किसान बिजय खनालले गुनासो गरे । विभिन्न खालका फोहोर जति बगेर गाउँमा आइपुग्छ,’ उनि भन्छन्, ‘खेतबारीमा प्लाष्टिक र सिसाका फोहोरहरु थुप्रिने र त्यो फोहोरले बालीनालीमा असर गर्दै आएको छ ।

सोही वडाका किसान तथा मद्राहानी मौजाका सिपाही समेत रहेका काशिनाथ गिरीले फोहोरकै कारण गाईवस्तु पनि बिरामी पर्ने गरेको बताउँछन् । ‘पहिले–पहिले खोलाको पानी गाईवस्तुलाई खुवाउन र सिंचाई गर्न हुन्थ्यो,’ गिरी भन्छन्, ‘बजारको फोहोरले खोला जति सबै दूषित भइसके । जसले गर्दा खेतीपातीमा ह्रास आएको दुखेसो पोखे ।’ खोला र कुलाका दूषित पानीले सिंचाई गर्दा अन्नबालीमा समेत नयाँ रोगहरु देखा पर्ने र उत्पादन समेत घट्ने गरेको वताए ।

गाउँघरका कुला, खोल्सामा फोहोर थुप्रिन थालेपछि गाउँको सुन्दरता हराउँदै गएकोप्रति पनि स्थानीयहरुको चिन्ता छ । बुटवल उपमहनगरपालिका सरसफाई तथा अनुगमन व्यवस्थापन शाखा प्रमुख ठगिश्वर पोख्रेलले नगरवासीहरुलाई खोला, सार्वजनिक ठाउँ लगायत क्षेत्रमा जथाभावी फोहोर नफाल्न अनुरोध गर्दै ठाउँठाउँमा सुचना बोर्ड समेत राखिएको र यद्यपी कहिलेकाँही फोहर थुप्रियो, गाडि आएन भने सम्बन्धित वडा कार्यालय अथवा नगरपालिकामा जानकारी गराउन र फोहोर उठाउनका गाडी पठाईदिने भनेको जनाए । उनले टोल विकास संस्थाहरुलाई निगरानी गर्न र जथाभावी फोहोर फालेको पाईएमा कारबाही गर्ने नीतिगत निर्णय भएको समेत उल्लेख गरे ।

पोख्रेलले खोला, कुलाहरुमा फाल्ने फोहोरले खेतबारीमा असर नपु¥याओस् भनेर हामीले गत जेठ २६ देखि २८ सम्म जनप्रतिनिधि, प्रहरी, सशस्त्र र नेपाली सेना लगायतले सुखौरा खोला सफाई गरेको बताए । पालिकाहरुले जथाभावी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था समेत गरेका छन् ।

दैनिक बुटवलबाट ५३ टन फोहोर संकलन हुने गर्दछ । तर उपमहानगरपालिकाहरुले हालसम्म व्यवस्थित ल्याण्डफिल्ड साइट गराउन सकेको छैन् । जसका कारण उपमहानगरको वडा न–११ मा पर्ने तिनाउ नदिको किनारमा फाल्दै आएको छ । खेतबारीमै नकुहिने प्लास्टिकले खेतीयोग्य जमिनको ह्रास आउने कृषि बिज्ञको भनाई छ ।

मद्राहानी मौजा सिंचाई प्रणालीका अध्यक्ष सुरज ज्ञवालीले करिव एक हजार विगाहामा सिंचाई हुने कुलो अत्यन्तै फोहोरले भरिदै गएको र यसबिषयमा पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएकाले किसानहरु शसक्त रुपमा आन्दोलनमा उत्रिनुपर्नै बाध्यता नआउला भन्न नसकिने वताए । अध्यक्ष ज्ञवालीले पछिल्लो समय उक्त कुलो अतिक्रमणको चपेटामा पर्दै गएकोप्रति गम्भीर कदम उठाउने उल्लेख गरे । गाईघाट, कटानी, भुल्का हुँदै मृगौली साविक मक्रहर गाविस वडा न–६ मा सिंचाई हुँदै आएको र १ हजार २ सय घरधुरीहरु मर्कामा परेको जनाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *