बुटवल । लामो खडेरीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१४ टिकुलीगढमा यतिवेला खानेपानीको हाहाकार भएको छ । असारको आधा महिना हुँदा समेत पानी नपरेपछि पानीका मुहान सुक्न पुगेका छन् । जसका कारण स्थानीयहरुका घरमा भएका चापाकलहरुमा पानी आउन छोडेपछि खानेपानीको चरम समस्यामा परेको स्थानिय यमवहादुर विष्ट बताउँछन् ।
उनि भन्छन्, म अहिले ६० बर्ष पार गरे तर यस्तो पानीको अभाव खेप्न परेको थिएन । अहिले अत्यधिक गर्मी भएकाले पानीका मुहान सुके, गाउँमा रहेका तालतलिया मासेर जनघनत्वका कारण बस्ति बाक्लो हुँदै गएको र स्थानीय खोलाहरु पनि गहिरिदै गएकाले झन समस्या पर्दै गएको वताए ।
बागधुरा, देविनगर, टिकुलीगढ, तिनधुरा, दुर्गानगर, केबट टोल, पटेरी डाँडा र पटेरी टोलका करिव एक हजार घरधुरीका स्थानीयहरु पानीको चरम समस्या खेप्दै आएका वेला तिलोत्तमा नगरपालिका वडा न-१४ का वडाध्यक्ष अस्विन पौडेलले नगरपालिकाको ट्यांकरबाट खानेपानी गाउँगाउँमा पुर्याउन थालेका छन् । वडा कार्यालयको कामलाई समय मिलाउँदै स्वयम् आफै पानीको ट्यांकर लिएर स्थानीयहरुको घरघरमा पुगेर सेवालाई तीव्रता दिदै आएका छन् ।
वडाध्यक्ष भन्छन्, कोहीकसैलाई खानेपानीको समस्या परेमा आफुलाई अथवा वडा कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गर्दै टिकुलीगढमा निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्यांकीको निर्माणका लागि प्रदेश र संघीय सरकार सँग लविङ गर्दै आएको वताए ।
खानेपानीको चरम समस्या खेप्दै आएका स्थानीयहरु वडाध्यक्षको पहलमा ट्यांकरबाट पानी पाएपछि ठूलो राहत मिलेको बताउँछन् । हामी त अब पानी पनि खान नपाएर मरिने भैयो भनेर आत्तिएका थियौं । यहि समयमा वडाध्यक्ष ज्युले स्थानीयहरु छट्पटाईरहेका बेला पानी वितरण गरेर बाँच्ने सास बचाईदिनु भयो । स्थानीयहरु भन्छन् । दैनिक २४ हजार लिटर पानी वितरण हुँदै आएको बताईएको छ।