नेपालगंज: नेपालगंज बजार क्षेत्र वरपर रहेका किराना पसलहरुमा छरपस्ट रुपमा म्याद गुज्रेका सामान हरु बिक्रि वितरण भैरहेको पाइएको छ।
धेरै जसो छिटो छरितो नास्ताको रुपमा बालबालिका तथा अन्य उमेर समूहका उपभोक्ताले प्रयोगमा ल्याउने बिस्कुट, चाउचाउ, दालमोट, कुरमुरे जस्ता प्याकेजिंग गरिएका खाद्यबस्तु म्याद गुज्रिसकेपछि बिक्रि भैरहेका छन।
म्याद गुज्रेका खाद्यबस्तु उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेपनि यस्ता अखाध्य बस्तुहरु बिक्रि वितरणमा रोक लगाउने मुख्य निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र नेपालगंज उपमहानगरपालिका मुक दर्शक बनेर बसेका छन।
प्याकेजिंग गरिएका खाद्यबस्तु मात्र नभई सडक किनारमा राखिएका र खाद्यबस्तु बिक्रि वितरण सम्बन्धि मापदण्ड पुरा नगरी बिक्रि गरिएका ती अखाध्य बस्तु बारे खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र नेपालगंज उपमहानगरपालिका दुबैलाई थाहा नभएको भने होइन।
बेलाबेलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग नेपालगंजले जनचेतनामूलक कार्यक्रमहरु गरेतापनि ती कार्यक्रमहरु होटलको एसी रुममा सिमित हुनेगरेका छन। निरन्तर बजार अनुगमन गरि स्वास्थ्यमा प्रतिकुल असर पार्ने म्याद गुजेका, कमजोर गुणस्तर भएका, मिसावट युक्त खाद्य पदार्थ उत्पादक तथा वितरक दुबैलाई कानुनी दाएरामा ल्याउने र उपभोक्ताको स्वच्छ खाद्यबस्तु उपभोग गर्न पाउने अधिकार को सम्रक्षण गर्न तर्फ खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र नेपालगंज उपमहानगरपालिका दुबैको ध्यान जान जरुरि छ।