नेपाल संवतको नयाँ वर्ष ११४४ आजबाट सुरु, म्हः पूजा पनि गरिँदै

धर्म संस्कृति

नेपाल संवतको नयाँ वर्ष ११४४  आजबाट सुरु भएको छ ।

नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।

यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौं उपत्यकामा छ ।

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो । लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले नेपाल संवत् मौलिक छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विक्रम संवत् २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

नेपाल संवतको नयाँ वर्ष ११४४ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित बिभिन्न दलका नेताहरू लगायतले शुभकामना सन्देश दिएका छन् ।

साँझ म्ह पूजा 

नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।

म्हपूजाको अर्थ हो शरीर पूजा । कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ ।

म्हपूजाको दिन नेवारहरु बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाइ गरी चोखो लुगा लगाई विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्छन् ।

म्हपूजा गर्न सुरुमा रातो माटोले लिपिन्छ । लिपिसकेपछि चोखो पानी छर्केर पानीको मण्डला बनाइन्छ । त्यसपछि तेलको मण्डला बनाइन्छ । त्यसको माथि चामलको पीठोबाट व्यक्तिको प्रतीक मण्डला तयार गरी त्यसमा पञ्चरङ्गिन बनाइन्छ । त्यसपछि मण्डलाको बीच भाग र चार कुनामा कालो काँचो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल) राखिन्छ । त्यसको माथि खेलुइता (टुप्पीदेखि चिउँदोसम्मको नापमा बनाइएको मलमल कपडा) को बत्ती राखिन्छ ।

घरका सदस्यहरु क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । घरको मूलीमाथि गणेश भगवानकाे मण्डला तयार गरिन्छ । मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, अम्बा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, वयर लगायतका फलफूल सजाइन्छ । त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरङ्गीन कपडाको टुक्रा राखेर बनाएको माला), सयपत्री फूलको माला र सयपत्री तथा गोदावरी फूल राखिन्छ ।

म्हपुजा गर्दा पहिले सुकुन्डा बालेर चामलको पीठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा प्रत्येकलाई देवीदेवतालाई जस्तै विधिवत् रुपमा पूजा गरी खेलुइता बालेर शरीरको तीन अङ्ग घुँडा, कुम र टाउकामा तीनवटा मुटुमारी (चामलको रोटी), पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर, ताय, जुङ्गेधान, आख्य आदि राखेर तीन पटकसम्म टाउकामा ढोगाएर मण्डलामा जाने गरी कुले (काठको पाठी)ले खन्याई म्हपूजा गरिन्छ । म्हपूजा गर्दा खेलइता निभाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

पूजा सकिएपछि क्रमशः बिमिरो, कोखा, फूलको माला र सयपत्री फूलसहितको फलफूल हातमा दिएर कोखा र फूलको माला लगाई टाउको फूल राखिन्छ । त्यसपछि खेलुइता ननिभेकै बेला नकींले तलदेखि लक्ष्मी पूजाको दिन ढुकुटीमा पूजा गरेको नयाँ कुचोले बढारेर माथि गणेशलाई पूजा गरेको ठाउँमा जम्मा गरिन्छ । रातभरि त्यतिकै छोडेर भोलिपल्ट बिहानै खोलामा विसर्जन गर्ने परम्परा छ ।

म्हपूजा सकेपछि आ–आफ्नो स्थानमै बसेर घरको नकीबाट खेःसगं (अण्डा सगुन) दिइन्छ ।  भोज खाइसकेपछि सलादका रुपमा गणेशलाई चढाएको बिमिरो काटेर भोज समापन गरिन्छ ।

म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । म्हपूजा बलिराजालाई साक्षी राखेर गर्छ भन्ने लोकमान्यता छ ।

मेरोलगानी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *