निरंकुश बन्दै सरकार ६ महिना सम्म को लागि निषेधाज्ञा

समाचार

सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ। विशेष गरी ‘हाई प्रोफाइल’हरूको बसोबास र कार्यालय क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ।

बुधवार बिहानबाट सुरु भएको निषेधाज्ञा जारी गर्ने काम बिहीबार बिहानसम्म नियमित छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयले धमाधम निषेधाज्ञा जारी गरिरहेका छन्। 

यसैबिच काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले दोस्रो पटक प्रेस विज्ञप्ति जारी गर्दै शीतल निवास (राष्ट्रपति निवास) र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको हो। यसअघि काठमाडौँ प्रशासनले माइतीघर क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।  

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कसपसम्म, पश्चिम सामाखुसी निस्किने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पतालमा जाने मोडसम्म निषेधाज्ञा जारी गरेको हो। 

प्रशासनले बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैङ्क चोक र सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १ सय मिटरसम्म पाँच जना भन्दा बढी भेला हुन नदिने बताएको छ।  

यसैगरी ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पनि विज्ञप्ति जारी गर्दै ‘हाइ प्रोफाल’बसोबास क्षेत्र र ठुला कार्यालयहरू भएका क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्।  

ललितपुर महानगरपालिका वडा न.३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवास पुल्चोकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलबाटो, पश्चिम किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजश्व कार्यालय तथा युएन हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ।  

उक्त क्षेत्रमा २०८० मङ्सिर ५ गतेदेखि आगामी ६ महिनाका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ। दुवै जिल्लाका प्रशासनले उक्त क्षेत्रमा पाँच भन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको जनाएका छन्।  

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम यो निषेधाज्ञा जारी गरेका हुन्।  

मेडिकल व्यवसायी दुर्गा प्रसाईले विभिन्न माग राख्दै बिहीबारदेखि उपत्यकामा नियमित प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। उनले प्रदर्शनमा सहभागी गराउन उपत्यका बाहिरबाट समेत सर्वसाधारणलाई काठमाडौँ ल्याउने तयारी गरिरहेका छन्। उनले वित्तीय तथा बैङ्कका  ऋणिहरुलाई मुक्ति दिलाउने नाममा वर्तमान राजनीतिक दलहरू विरुद्ध समेत आफ्नो प्रदर्शनलाई केन्द्रत गरिरहेको र त्यसको प्रतिकार गर्ने चेतावनी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भातृ सङ्गठन युवा सङ्घले दिएको छ। सरकारले सम्भावित असुरक्षालाई निस्तेज पार्न यो कदम चालिएको बताउँदै आएको छ । 

नागरीक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *