शेयर बजारमा उत्साह सर्किट लागेर कारोबार अवधिभन्दा अगावै बजार बन्द

आर्थिक

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगावै बन्द भएको छ। यस दिनको बजारलाई गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले प्रभाव पारेको हो।

गत शुक्रबार राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि यस दिन बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो।

आइतबार नेप्से परिसूचक बजार खुलेको ५ मिनेटमा नै ४ प्रतिशत बढेर सर्किट ब्रेक लागि २० मिनेटको लागि कारोबार बन्द भएको थियो। २० मिनेटपश्चात खुलेको बजार २ मिनेटमा नै अर्को एक प्रतिशत बढेपछि बजार पुनः ४० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार २ मिनेटमा नै पुनः अर्को एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि यस दिनका लागि शेयर कारोबार बन्द भएको हो। यस दिन नेप्सेमा कुल ९ मिनेट मात्र शेयर कारोबार भएको हो।

यस दिन नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २१.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ७.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.४६ अंक बढेको छ।

यस दिन २४४ स्टकको ७ हजार १४ पटकको कारोबारमा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको १३ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

९ मिनेटको कारोबारमा यस दिन १ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य दुई दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शुभम पावर, कालिञ्चोक दर्शन लगायतका स्टकहरुको मूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको २२४ स्टकहरुमध्ये यस दिन ५ स्टकको मात्र मूल्य घटेको छ भने २ स्टकको मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा यस दिन माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पनि ३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ८.६३ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *