नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकास, परिवर्तन र अग्रमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।
एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिम आइपुगेका अध्यक्ष ओलीले अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
शान्ति र एकताबिना विकास सम्भव नहुने भन्दै अध्यक्ष ओलीले कसैको विरोध गरेर समय खेर फाल्नुभन्दा विकास निर्माण जुट्न युवा शक्तिको ध्यानाकर्षण गराए । ‘कुनै दल र व्यक्ति विशेषको विरोध गरेर समय बर्बाद पार्ने अनि समय गुज्रेपछि विदेशमा रोजगारी गर्न जाने युवा शक्तिको सोच परिवर्तन नभएसम्म देश विकास हुन सक्दैन,’ ओलीले भने ।
सकारात्मक सोच र एकता हुने हो भने पहाडमा विकास र समृद्विका पर्याप्त सम्भावना रहेको टिप्पणी गर्दै ओलीले पहाडबाट बसाइँसराई जाने क्रम रोक्न यसअघि निर्माण थालिएका तमोर जलाशययुक्त आयोजना, उत्तर-दक्षिण लोकमार्ग र प्रत्येक पालिकामा निर्माण थालिएका ५ शय्याका अस्पताल निर्माणले पूर्णता पाउनुपर्नेमा जोड दिए ।
वर्तमान सरकार अपवित्र गठबन्धनबाट निर्माण भएको ओलीको टिप्पणी थियो । ‘दर्जनौं त्यान्द्रा र जुइना जोडेर बनाएको बाजा बजाउन खोज्दा तिनै त्यान्द्रा र जुइना खुस्केर हैरानी पार्छ, गठबन्धन सरकार त्यस्तै भएकाले यसबाट धेरै आशा र अपेक्षा नगरौं,’ ओलीले भने ।
अध्यक्ष ओलीले पहिचान पक्षधरका नाममा भएको आन्दोलनको अर्थ नरहेको बताए । ‘विधि र प्रक्रियाबाट भएको नामकरण त्यसै हेरफेर हुन्न । कि प्रक्रियामा आएर परिवर्तन गर्नुपर्यो कि चुनावि जितेर आउनुपर्यो,’ उनले भने ।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको समृद्विका लागि संकल्प यात्रा शनिबार १७ औं दिनमा फिदिम आइपुगेको हो । उक्त यात्रा आइतबार मध्यपहाडी लोकमार्गको चिवाभन्ज्याङ पुगेर समापन हुँदैछ ।
कान्तिपुर बाट