पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन। कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपले प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो। पराजुलीलाई कार्यस्थलबाटै पक्राउ गरी पोखरा ल्याउँदै गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।
केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन पराजुलीलाई आज कार्यालय आएको मौकामा प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो । कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा रजिष्ट्रार थीए ।
अनुसन्धानका क्रममा एक करोड पाँच लाख रुपियाँ पराजुलीले लिएको देखिएको थियो । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित दुई दर्जनभन्दा बढी अझै फरार छन् । फरारहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
मित्रमिलन सहकारीका सात सय ४४ बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गरेका छन् । उनीहरूको दाबी २० करोड हाराहारी छ ।