मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् ।१० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ ।
मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी गोल्ड मेडल जित्ने मोरङकी दीपा बिष्ट तथा रजत पदक जित्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरेको हो ।
दीपा र कविरलाई जिल्ला मोरङ स्ट्रेन्थलिफ्टिङ संघ मोरङका अध्यक्ष नवनित राज प्रधान लगायत अन्य पदाधिकारीहरुले मेडल ,कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा बिष्टले ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी थिइन् । हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा उनले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन् ।
उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाइन् । उनी च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भइसकेकी छिन् ।
यसरी आफुले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकोमा धेरै खुशी लागेको बताइन।
दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तर्गत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगितामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।
सम्मानित दुवै खेलाडी आफ्नै व्यक्तिगत डेढ लाख भन्दा बढीको खर्चमा अन्तराष्ट्रिय स्तरको खेल प्रतियोगितामा सहभागी भई आएको उनीहरुले बताएका छन् । नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलका रूपमा समेत मान्यता नदिएको भन्दै स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेलसम्वद्ध सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिष्पर्धा मार्फत पदक भित्राईरहँदा राज्यले अहिलेसम्म यस खेललाई मान्यता र चासोको रुपमा नहेरिदिदा खेलाडीहरुमा एक प्रकारको निरासापन छाएको छ । त्यसैले यसलाई पनि अन्य खेल सरह राज्यले प्राथमिकता दिनु आवश्यक देखिन्छ ।