नेपालगंज: वाणिज्य बैंकहरुले माघ महिनाका लागि धमाधम ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका छन्। बैंकहरुले अघिल्लो महिनाको तुलनामा साधारण बचत र मुद्दती निक्षेप दुबैमा ब्याजदर घटाएका छन्।
हालसम्म एनआइसी एशिया बैंक र कुमारी बैंकले ब्याजदर घटाएकाे सूचना प्रकाशित गरेका छन्। अन्य बैंकहरुले पनि ब्याजदर घटाउने तयारी गरेका छन्। माघमा पुनः ब्याजदर घट्ने संकेत देखिएसँगै शेयर बजार बढ्न थालेकाे छ ।
एनआइसी एशिया बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८.०६५ प्रतिशतमा झर्ने भएको छ। बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशतविन्दु घटाएको हो। त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। पुस महिनामा यस्तो ब्याजदर ६.६७ प्रतिशत थियो।
यस्तै कुमारी बैंकले प्रकाशित गरेकाे सूचना अनुसार बैंकले माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दती निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिनेछ।
पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतीमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।
यी बाहेक अन्य बैंकहरुले पनि अहिले ब्याजदर घटाएर सूचना प्रकाशित गर्ने तयारी गरिरहेका छन्। बैंकहरुले माघदेखि लागु हुने ब्याजदर पुस मसान्तसम्ममा सार्वजनिक गर्नुपर्छ। बैंकहरुमा अधिक तरलता रहेका कारण अधिकाँश बैंकहरु ब्याजदर घटाउनु पर्ने पक्षमा छन्।