विश्वमा नै विरलै विलक्षण क्षमताका राजा थिए पृथ्वीनारायण शाह

समाचार

भीम उपाध्याय काठमाडौं: हाम्रा बुढो दिमागका युवा नेताहरूले पृथ्वीनारायण शाह २० वर्ष उमेरमा नै राजा बनेका र त्यसको १ वर्ष पछि गोरखा राज्यलाई सुरक्षित राख्न नेपाल एकिकरणको महायात्रामा हिडेर ३२ वर्षसम्म अटूट अथक अभियान चलाएका हुन् भन्ने इतिहॉस कत्तिको संस्मरण गरेका छन्? उनी २० वर्षमै आफै अघि लाग्दै सेनापतिको रोलमा तरबार भिरेर नेतृत्व गर्दै लडेका हुन् । अहिलेका जस्तो कमाण्डर, सेनापति, जरनलहरू घरभित्र बस्ने र सिपाहीलाई लड्न पठाउने सेनापति थिएनन् पृथ्वीनारायण। त्यसबेला राजा भनेका आफै अघिलाग्ने महाभारतको जस्तै हुने गर्दथ्यो। उनी आफै युद्ध मैदानमा खटिएका सेनाको नेतृत्व गर्दै लडेका पो हुन् त! यिनीसंग तुलना गर्न मिल्ने नेता एवं सेनापति सायद विश्वमा नै बिरलै होलान्। ३२ वर्षसम्म राजा हुदा निरन्तर एकिकरणको लडाईको नेतृत्व गरिरहे।
उनका योगदानहरूको जानकारी राख्ने, इतिहास पढ्ने अहिले कति नेपाली होलान्?
आजका दिनमा कमसे कम पृथ्वीनारायणको सम्झना गरेर देशलाई एकताबद्ध र सुरक्षित राख्न उनका दिव्य उपदेशहरुलाई सबै नेपालीले मनन गर्दै त्यसमा केन्द्रित हुने प्रयास गर्नु झन बढी खॉचो देखिन्छ।

त्यो बेलाको परिवेशमा राज्यहरूको परिस्थिति र अवस्था कि आफू विजयी होउ कि बिलिन होऔ भन्ने थियो। पृथ्वीनारायण शाह लडाईमा बीच बीचमा हारेका पनि थिए तर कहिल्यै आफ्नो लक्षबाट विचलित भएनन्। अन्तत: अनेक प्रयासपछि विजयी भए र अरूहरू पराजीत भएर बिलिन भए। आफ्नो राज्य जोगाउन नसक्नेहरू विलिन भएता पनि पृथ्वीनारायण शाहले कसैलाई पनि तिमी पराजीत भएका हौ भन्ने दम्भ र हेपाई प्रदर्शन गरेनन् । पराजीत सबैलाई यथोचित जिम्मा र अधिकार दिदै आफ्नो समर्थक बनाउदै बढाउदै साथ लिदै गए। नेतामा हुनुपर्ने यो उत्कृष्ठ गुण हो- पराजीतलाई सम्मानित र जिम्मेवार बनाउदै लगेर मित्र बनाउदै जाने।

आज देशभर स्वस्फूर्तरूपमा पृथ्वीजयन्ती आयोजना भएको छ। पृथ्वी जयन्तीका अवसरमा राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गर्न पहिले पहिले जस्तो यसपाली अल्छि गरेको देखिएन। हामी बृहत नेपाल नेपाली हुन पाएका यिनै पायोनियर राजनेता पृथ्वीनारायणका कारणले हो। हामी सदा उनीप्रति कृतज्ञ छौं किनभने कैयन ठूला बिशाल देशहरू पनि यसबीचमा विलिन भए तर नेपाल आजसम्म अस्तित्वमा छ।
जसले पुर्खाको सम्मान गर्न जानेको हुन्छ उसलाई मात्र भविष्यका सन्ततिले पूर्खा मानेर सम्मान गर्नेछ।

पृथ्वीनारायणद्वारा दिइएको “दिव्योपदेश” का अति महत्त्वपूर्ण छन्। आर्थिक सामाजिक नैतिक, न्यायिक पतनको अवस्थामा पुगेको नेपाललाई भीजन दिएको यी अति सान्दर्भिक केही उपदेशहरू हुन्-

१. खानी भएको ठाउँमा गाउँ छ भने त्यसलाई अरू जग्गामा सारेर खानी चलाउनू।
२. गह्रो बन्ने जग्गामा घर भए पनि अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नू ।
३. कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनू।
४. आफ्ना देशको जिनीस् जरिबुटि देस लैजानू र नगद षैचनू (खैचनू)। नगद षैचि राषनू र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भण्डार भन्याका रैतानहरु हुन् ।
५. मेरा साना दुखले आर्ज्याको मुलुक होइन ।
६.यो मुलुक चार जात छत्तीस वर्णको साझा फुलबारी हो।
७. अन्याय मुलुकमा हुन नदिनू ।
८. निञानिसाप बिगार्न्या भन्याका घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, ई राजाका महासतुर (महाशत्रु) हुन् ।
९.अदालथमा पनि ठकुरि जाँची डिठ्ठा राख्नू,
१०. मगर जाँची विचारी थाप्नू,
११. कचहरिपिछे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू ।
१२.अदालतको पैसा दर्बारभित्र नहुल्नू ।

पथ्वीनारायण शाह, योगी नरहरिनाथ, भानुभक्त आचार्यलाई नेपालीले बिर्सन कसरी सक्छन् र! यसमा केही आलोचनात्मक दृष्टिकोण राख्न सकिएला तर यिनीहरूका बिना आज नेपाल र नेपालीको अस्तित्व रहने थिएन।
उनीहरूकै कारण अहिले नेपाल छ र त अन्य देशहरूमा पनि नेपाली भनेर चिनिन पाएका छन्। नत्र के भनेर चिनिने थियौँ होला, कल्पना गरौँ त!

पृथ्विनारायण शाह २० वर्षमै राजा भए। ३२ वर्षसम्म राजा रहे। ५२ वर्ष उमेर पुग्दा निधन भयो। एकिकरण पूरा भएको ५ वर्षमै निधन भयो। उनलाई आफ्नो भीजन पूरा गर्न आयुले दिएन। बॉका हाम्रो जिम्मा छाडेर गए। कहिलै आराम गर्न पाएनन्। जिन्दगीनै लडाईमा बिताए। नेपाललाई बृहत बनाए। विजेता भए पनि पराजीत हुनेहरूलाई पराजीत महसुस गर्न दिएनन्, सहभागितात्मक राजकाज चलाए। सबैलाई यथोचित अधिकार दिदै राज्य चलाए।
गर्वले छाती चौडा हुदैन त उनी हाम्रै पूर्खा थिए भन्न पाउँदा। ईतिहास पढ्ने विधि हुन्छ- त्यसबेलाको काल, परिवेश, परिस्थिति, विश्व मूल्यमान्यता र विद्यमान समाजको सन्दर्भमा पढ्ने हो। शास्वत मूल्यमान्यता निखन्ने हो, केलाउने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *