नेपाल संलग्न नभएको युद्धमा नेपालीको संलग्नता रोक्न कानुन बनाऔं’

समाचार

काठमाडौँ: नेपाल संलग्न नभएको युद्धमा नेपालीको संलग्नता रोक्नका लागि स्पष्ट कानुन बनाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ।

समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानुन बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको पराराष्ट्र नीतिको केन्द्रविन्दुमा सदैव शान्ति र अहिंसा रहनुपर्ने माग गरेका छन् । समाजले रुस-युक्रेन युद्ध, इजरायल-हमास युद्ध, इरान-पाकिस्तान सीमावर्ती बलुचिस्तानमा भएको आक्रमण, उत्तर-दक्षिण कोरिया-जापानबिचको द्वन्द्व, चीन ताइवान द्वन्द्वलगायतको उदाहरण दिँदै समाजले यसमा नेपाली सैन्य दुरुपयोग हुन सक्ने भन्दै सजग गराएको हो ।

‘२०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस-युक्रेन युद्ध दुई वर्ष पुग्नलाग्दा पनि रोकिएको छैन । युरोपबाट सुरु भएको युद्धको डढेलो पश्चिम एसिया हुँदै दक्षिण एसियासम्म सरिसकेको छ । इजरायल र हमासबीचको युद्धले पश्चिम एशिया त्राहीमाम छ भने अमेरीकी गठबन्धन र यमनको अधिकांश भाग कब्जा गरेको हुथीबीच (पश्चिमद्वारा आतंकवादी घोषित) आक्रमण प्रत्याक्रमणले रक्तसागर क्षेत्र अशान्त छ,’ समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसैबिच इरानले पाकिस्तानको सीमावर्ती बलुचिस्तानमा गरेको आक्रमण र पाकिस्तानले गरेको प्रत्याक्रमणले युद्धको बाछिटा दक्षिण एसियासम्म आइपुगेको छ । युद्ध विस्तारित हुँदै जानु विश्व शान्ति र मानव सभ्यताका लागि गम्भीर खतरा रहेको धारणा मानव अधिकार तथा शान्ति समाजको रहेको छ।’

रुस-युक्रेन युद्ध सुरु भएपछि समाजले तत्काल युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न आह्वानसहित अभियान नै चलाएको थियो ।पछिल्लो समयरुसी सेनामा भर्ति हुन गएका दर्जनबढी युवाहरु रुस-युक्रेन युद्धमा मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *