नेपालगंज जेठ २२ गते। नेपालगंज सहरको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो छ। यो क्षेत्र विभिन्न जाती, धर्म र संस्कृतिका मानिसहरूको बसोबासका कारण विविधताले भरिपूर्ण छ। यहाँ हिन्दु, मुस्लिम, बौद्ध र अन्य धर्मावलम्बीहरू मिलेर एकै स्थानमा बसोबास गर्दछन्। धार्मिक विविधता र सहिष्णुताले नेपालगंजलाई एक अनुपम सांस्कृतिक केन्द्र बनाएको छ।
नेपालगंज उपमहानगरपालिका भौतिक विकास तथा धार्मिक पर्यटनको क्षेत्रमा अग्रसर बनेको छ । नेपालगन्जले धार्मिक पर्यटन विकासको अपार सम्भावना बोकेको छ। धार्मिक पर्यटनले न केवल धार्मिक आस्थालाई प्रवर्द्धन गर्छ, यसले स्थानीय अर्थतन्त्रमा समेत ठूलो योगदान दिन सक्छ। धार्मिक पर्यटनले स्थानीय व्यवसाय, होटल, रेष्टुरेन्ट र यातायात व्यवसायलाई समेत बढावा दिन्छ। धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधारहरूको विकास आवश्यक पर्छ।
अहिले नेपालगंज उपमहानगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि थुप्रै परियोजनाहरू संचालन गरीरहेको छ। ती परियोजनामध्ये निकै महत्त्वपूर्ण योजना भनेको बागेश्वरी मन्दिर परिसरभित्र रहेको जुंगे महादेवको मन्दिर पनि एक हो। बागेश्वरी तलाउ बिचमा रहेको जुंगे महादेव भगवान शिवको बिशाल मुर्ति जुन विश्वमै यस्तो अवतारको मुर्ति देख्न पाइदैन। बागेश्वरी तलाउमा रहेको सो मुर्तिमा पुग्न जिर्ण पुलको कारण भक्तजनहरुले भोग्नुपरेको कठिनाइलाई महसुस गरि उपमहानगरपालिकाले तिब्र रुपमा पुलको पुनः निर्माणको कार्य गरिरहेको छ। जुंगे महादेवको मन्दिर शिवभक्तहरूको लागि अत्यन्तै महत्वपूर्ण स्थल हो, जहाँ भक्तजनहरू पूजा-अर्चना गर्न र दर्शन गर्न आउने गर्दछन् भने पर्यटकको रोजाईको पनि केन्द्रबिन्दुका रुपमा लिइन्छ ।
यस मन्दिरको योजनाको कार्यगत प्रगति हेर्दा जुङ्गे महादेवको मन्दिरसम्म पुग्ने पुलको पुनर्निर्माण द्रुतगतिमा कार्यान्वयनमा रहेको छ।
कुल लागत ७५,००,००० (पचहत्तर लाख) रुपैयाँ रहेको यस आयोजनामा हाल पिलरहरू निर्माणकार्य भइरहेको छ।
यसको निर्माण पूरा भएपछि मन्दिरमा आउने भक्तजन र पर्यटकहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ। विभिन्न धार्मिक पर्व र अनुष्ठानहरूमा भक्तजनहरूको सहभागिता बढ्नेछ। पुलको सुधारपछि मन्दिरमा हुने सांस्कृतिक कार्यक्रमहरूमा स्थानीय बासिन्दाको सहभागिता बढ्नेछ, जसले सामुदायिक भावना र एकता बलियो बनाउनेछ। मन्दिरमा आउने विभिन्न जातजाती र समुदायका मानिसहरूबीच भाइचारा र सद्भाव बढ्नेछ, जसले समाजमा एकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने विश्वास राखिएको छ । बिना अबरोध यही गतिमा निर्माणकार्य सुचारू भएमा आउने दशैसम्म श्रद्धालु भक्तजन तथा पर्यटकहरूका लागि सहजरूपमा पहुँच हुनेगरी निर्माण कार्य पुरा हुनसक्ने अपेक्षा गरिएको उपमहानगरपालिकाका प्राविधिक भुपेन्द्र बोहराले जानकारी दिनुभयो ।
यसैगरी सोही मन्दिरको पुर्वतर्फ अवस्थित बागेश्वरी चिल्ड्रेन पार्क निर्माण कार्य अर्को एउटा धार्मिक पर्यटनसंग प्रत्येक्ष सम्बन्ध राख्ने योजना हो। कुल लागत ३५,००,००० (पैतिस लाख ) रुपैयाँ रहेको यस पार्कको निर्माण बागेश्वरी मन्दिर संगै जोडिएको हुनाले मन्दिरमा आउने भक्तजन का लागि बिश्राम र बालबालिकाहरूलाई खेल्ने रमाइलो स्थलको रुपमा उपयोग हुनेछ। यसको कार्य प्रगति हेर्दा बाउन्ड्री वालको काम भइरहेको र बाउन्ड्री वालको काम यसै आर्थिक बर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष उपमहानगरपालिकाको रहेको छ ।
नेपालगन्जमा बन्दै गरेको १०८ फिट अग्लो हनुमानजी को मूर्ति निर्माण कार्य उपमहानगरको अर्को महत्वपूर्ण आयोजना हो। हनुमानगढ़ी एक प्रमुख धार्मिक स्थल हो, जहाँ भगवान हनुमानको मन्दिर अवस्थित छ। भगवान हनुमानलाई बल, भक्ति, र समर्पणको प्रतीक मानिन्छ। यो परियोजना बहुवर्षीय योजना हो यस आयोजनामा यसै आर्थिक वर्ष २०८०/८१ का लागि कुल ५,३२,२५,००० (पाँच करोड बत्तीस लाख पच्चीस हजार) रुपैयाँ बजेट छुट्याइएको छ। मूर्ति निर्माणको मुख्य उद्देश्य धार्मिक आस्था र पर्यटन प्रवर्द्धन रहेको छ भने यस मूर्तिले धार्मिक पर्यटकहरूलाई आकर्षित गर्ने, धार्मिक महत्त्वका स्थलहरूको संख्या बढाउने, तथा स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने उद्देश्य उपमहानगरपालिकाले राखेको छ। मूर्ति निर्माणले स्थानिय बासिन्दाहरूलाई रोजगारका अवसर पनि प्रदान गर्नेछ।
अहिले परियोजनाको स्टेज तथा पोडियम निर्माणको काम सम्पन्न भइसकेको छ साथै मुर्तिको स्ट्रक्चर निर्माणको काम सुरु भएको छ। बहुबर्षीय आयोजना भएको हुदा पूर्ण रुपमा निर्माण सम्पन्न हुन अझै केहि बर्ष लाग्ने देखिन्छ।
सद्भावको सहरका नामले चिनिने नेपालगंज सहर भित्र नेपालगंज उपमहानगरपालिका स्थित बीपी चोकमा रहेको ईदगाहमा प्रवेशद्वार निर्माण कार्य धार्मिक, सांस्कृतिक, र सामाजिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ।नयाँ प्रवेशद्वारले ईदगाहको आकर्षण र प्रतिष्ठा बढाउनेछ। यो परियोजनाले इस्लाम धर्मावलम्बीहरूको लागि धार्मिक स्थलमा पहुँच र सुविधामा सुधार गर्ने छ। प्रवेशद्वार निर्माणपछि ईदगाहको धार्मिक महत्व र आकर्षण अझै बढ्नेछ, जसले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्नेछ। साथै, यसले स्थानीय सामाजिक-सांस्कृतिक एकता र सद्भावना अझ सुदृढीकरण गर्न सहयोग पुर्याउनेछ। यसरी, ईदगाह प्रवेशद्वार निर्माण परियोजनाले स्थानीय क्षेत्र र समाजमा सकारात्मक प्रभाव पार्नेछ।
हाल प्रवेशद्वार निर्माण कार्य प्रगति अवस्थामा छ। निर्माणको गुणस्तर र समयसीमाको पालनामा ध्यान दिइँदैछ, जसले संरचनाको स्थायित्व र सौन्दर्य सुनिश्चित गर्नेछ। स्थानीय सरकारर सम्बद्ध निकायहरू निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्। निर्माण कार्यको कुल लागत ३२,००,००० (बत्तीस लाख) रुपैयाँ रहेको छ र योजना छिट्टै सम्पन्न हुने विश्वास नेपालगंज उपमहानगरपालिकाले राखेको छ ।
यसरी नेपालगन्ज उपमहानगरले सडक नाला ताल तलैया संरक्षण, संवर्धनका भौतिक संरचना निर्माणका लागि क्रियाशील भए संगै धार्मिक स्थल संरक्षण, संवर्धन र पुनर्निर्माणमा पनि गतिशीलता देखाएको छ । नेपालगन्ज आर्थिक, सामाजिक, पर्यटन तथा धार्मिक विकासका लागि नागरिकसंग प्रत्यक्ष सहकार्य गर्दै अघि बढेको छ भन्न कन्जुस्याइँ गर्न पर्दैन !