पूर्वमा मनसुन प्रभाब बाढीले आधादर्जन काठेपुल बगायो, यातायात सेवा अवरुद्ध

समाचार

ताप्लेजुङ जेठ ३१ गते।  ताप्लेजुङमा तमोर नदीसहितका खोलामा लगाइएको अस्थायी काठेपुल बाढीले बगाउँदा यातायात सेवा अवरुद्ध बनेको छ। बुधबार रातभर परेको वर्षाका कारण तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल (गाडी गुड्ने काठको पुल) बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको छिरुवा र तापेथोक बगरमा लगाइएको अस्थायी काठेपुल बाढीले बगाएको छ। यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ। 

उक्त पुलहरु बाढीले बगाएपछि फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम, वडा ४ इखाबु, वडा ५ तापेथोक, वडा ६ लेलेप र वडा ७ ओलाङ्चुङगोलामा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ। फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ–ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको हो। 

खाम्लुङको दोभान, सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिका प्रवेश गर्ने तमोर कोरिडोर र फुङ्लिङ, सुकेटार, फुरुम्बु हुँदै लिङ्खिम जोड्ने मेची राजमार्गमा यातायात सेवा अवरुद्ध भएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो। यस्तै विभिन्न वडामा रहेका ग्रामीण सडकहरु पनि अवरुद्ध भएको उहाँले बताउनुभयो। 

त्यस्तै मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको शान्तिचौकस्थित भस्मेखोलामा आएको बाढी र वडा ३ लिबाङको चिहानडाँडामा पहिरो जाँदा भित्री सडकहरु अवरुद्ध बनेको प्रहरीले जनाएको छ। फुरुम्बु र लिङ्खिम जोड्ने सिस्ने खोलामा रहेको एक झोलुङ्गे पुलसमेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो। प्रहरी निरीक्षक लुङगेलीका अनुसार जिल्लाभित्र बाढी पहिरोले पुर्‍य ाएको क्षतिको विवरण सङ्कलन काम भइरहेको छ।

यसैगरी सिँसावा खोला र सिस्ने खोलामा आएको पहिरोसहितको बाढीले किसानले पालेका गाई र बङ्गुरसमेत बगाएको फक्ताङ्लुङ गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार सिस्ने खोलामा आएको बाढीले सोही खोला दोभान तमोर किनारमा रहेको क्रसर उद्योगमासमेत क्षति पुगेको छ। बाढी पहिरोले किसानको अलैँची बाली, मकैबाली, खेतीयोग्य जमिन र रुख तथा बोट बिरुवा बगाएर क्षति पुर्‍याएको छ।

यता फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष लिम्बूले विज्ञप्ति जारी गर्दै पालिकावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ। मनसुनका समयमा आइपर्ने जोखिम र प्राकृतिक विपतबाट बच्न र बचाउनका लागि पालिकावासीलाई सतर्क र सचेत रहन विज्ञप्ति प्रकाशित गरी अनुरोध गर्नुभएको हो। ताप्लेजुङमा बितेको २४ घण्टामा १६.८ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ। 

साभार: गोरखापत्र बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *