आवेश पौडेल, रुपन्देही । २०८१ जेठ २ गतेबाट जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान शुरु गरेको देशकै दोस्रो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हाल चार वटा विमानहरुले उडान भर्दै आएका छन् । शुरुवाती उडान भरेको जजिरा एयरलाइन्सले अहिले पनि उडान भर्दै आएको छ । २०७४ जेठ १९ गतेभित्र निर्माणकार्य गरिसक्नेगरी निर्माण शुरु गरिएको आयोजना ढिलो निर्माण भएपनि लामोसमयसम्म अन्तराष्ट्रिय उडान नहुँदा यसअघि विमानस्थलको आन्तरिक खर्च र एडिबी बैंकको लगानी ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको थियो ।
६ अर्ब २२ करोड ५१ लाख ३० हजार दुईसय २७ रुपैयाँ ९१ पैसा लागतमा नर्थ बेष्टले ठेक्का पाएपनि विभिन्न समयमा भेरियसन हुँदा उक्त ठेक्का सात अर्बको लगानीमा विमानस्थल बन्न पुगेको हो । घरपायकमा विमानस्थल बनेपछि पश्चिम क्षेत्रका नागरिकहरुलाई काठमाडौं जानुपर्ने बाध्यताबाट निकै सहज भएको र पूर्णफेजमा सञ्चालन गर्नका लागि विभिन्न ट्राभल्स एजेन्सीहरुसँग संवाद र समन्वय भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।
उनले घर नजिकै विमानस्थलमा विदेशबाट आउन पाउँदा यात्रुहरुले खुसी व्यक्त गर्ने गरेको बताउँदै पछिल्लो समय निजी एयरलाइन्सहरुले इच्छा जगाउँदै आएको उल्लेख गरे । दिनप्रतिदिन यात्रुहरुको संख्या बढ्दै गएको जनाउँदै महाप्रवन्धक तिवारीले नयाँ विमानस्थललाई सुन तस्करहरुले प्रयोग गर्न खोजेपनि सुरक्षा व्यवस्थालाई कडा बनाईएको र तस्करी कार्यलाई निरुत्साहित गर्नेगरी संयन्त्र तयार गरिको जिकिर गरे ।
गौतमबुद्ध विमानस्थलले विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई सहज बनाउने र थाई एयर एसिया लगायतले विशेष अफर दिएकाले काठमाडौंबाट भैरहवा आएर यात्रुहरु उडेको महाप्रवन्धक तिवारीले बताए । विमानस्थलमा चारवटा अन्तराष्ट्रिय उडान भएपनि आम्दानी नगरेको र थप विजनेशको खोजीमा रहेको जनाइएको छ ।
बुटवलमा पर्यटन व्यवसायी माधव ढकालले देशको दोस्रो अन्तराष्ट्रिय विमानस्थन बनाउँदा राज्यको अर्बाै लागनी भएकाले यसलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनका लागि भैरहवामा श्रम कार्यालय, विभिन्न म्यानपावर कम्पनी लगायत आवश्यक कार्यालयहरु स्थापना गर्नुपर्ने माग गर्दै जिल्लामा निजी क्षेत्रबाट पनि पर्यटन क्षेत्रमा करोडौं लागनी भएर ठुलठूला संरचनाहरु तयारी भइसकेकाले कार्यालन नभएकै कारण आमनागरिकहरु काठमाडौं जानुपर्ने बाध्यता कायमै रहेको दुखेसो पोखे ।
गत कार्तिक महिनमा ४ हजार दुई सय ७९ जना, मंसिरमा ३ हजार आठ सय ७८ जना, पुसमा १ हजार तीन सय ६५ जना र माघमा सबैभन्दा धेरै ६ हजार सात सय ७९ जना गरी कुल १६ हजार तीन सय एक जना यात्रुहरु आवागमन गरेको विमानस्थलले दिएको तथ्यांकले देखाएको छ । ट्रान्जिटरुपमा भने ४ हजार नौ सय ३२ जना रहेका छन् । सोमबार, बुधवार र शुक्रवार काठमाडौं भैरहवा दुवई नेपाल एयरलाइन्सले उडान भर्ने गरेको छ भने, फ्लाई दुवईले दैनिक दुवई भैरहवा काठमाडौं, जजिराले मंगलवार, विहीबार, शनिवार कुवेत भैरहवा कुवेत र थाई एयर एसियाले सोमवार, बिहीवार बैंकक भैरहवा बैंकक उडान भर्दै आएको बताईएको छ ।