बुटवल । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले बाँकी अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिदै
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश तर्फबाट प्रस्तुत गरेका हुन् ।
सोमबार (आज) सार्वजनिक गरिएको नीति कार्यक्रममा वैदेशिक रोजगारीबाट स्वदेश फर्केका युवालाई बाँझो जमिनमा व्यावसायिक कृषिमा संलग्न गराउन ‘मेरो मातृभूमि मेरो दायित्व कार्यक्रम चलाइने उल्लेख गरिएको छ । जलवायु अनुकूलन कृषि तथा रैथाने पशुपंक्षी पालन, रैथाने खाद्यान्न बालीलाई संरक्षण र प्रवर्द्धन गर्ने गरी प्रदेशलाई बिउ बिजनमा आत्मनिर्भर बनाइने, कृषि प्रयोगशाला र भेटेरनरी अस्पताललाई सुदृढ बनाइने उल्लेख छ ।
उत्पादन र उत्पादकत्व वृद्धि, पूर्वाधार निर्माण, खानेपानी र विद्युतमा पहुँच वृद्धि, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सुशासनलाई प्रवर्द्धन गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
लुम्बिनी विकास कोषमा प्रदेश सरकारको अपनत्व र भूमिका बढाउन, गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन तथा दाङको टरिगाउँ र अर्घाखाँचीको अर्घा विमानस्थल निर्माणका लगि संघीय सरकारसंग समन्वय र पहल गरिने नीति अघि सारिएको छ ।
बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर बृहत् बुद्ध सर्किट तथा प्रदेशका धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिने र राप्ती प्रादेशिक अस्पताललाई २ सय शैंयामा स्तरोन्नति गरिने, सामुदायिक विद्यालयहरु मर्जर गर्ने कार्यलाई प्रोत्साहन गरिने उल्लेख छ ।
सेवा प्रवाहलाई सहज, पारदर्शी बनाउन सुचना प्रविधिको अधिकतम प्रयोगलाई प्रवर्द्धन गरिने भइएको छ । नीति तथा कार्यक्रममा सरकारले गौरवको आयोजनाको पहिलो सूचीमा राखेर देउखुरी उपत्यकालाई नमुना राजधानीको रुपमा विकास गर्ने योजनालाई उच्च प्राथमिकता दिएको छ ।
नीति तथा कार्यक्रममा नदी सभ्यतासँग जोडिएको भर्जिन ल्यान्ड देउखुरी उपत्यकामा आधुनिक राजधानी निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने जनाइएको छ ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिँदै भविष्यमा सिंगो प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउन रासायनिक मल र विषादीको प्रयोगलाई घटाउन प्राङ्गारिक मल र वन जंगलमा झरेका पात, स्याउला संकलन गरी कम्पोष्ट मल बनाउन प्रोत्साहन गरिने उल्लेख छ ।