मिटरब्याजी मोहम्मद रइस पक्राउ, छोरा अफताब फरार

समाचार

पशुपति उपाध्याय बुटवल । कपिलवस्तुको कृष्णनगरमा कुख्यात मिटर ब्याजको धन्दा चलाइरहेका मोहम्मद रइस शेष पक्राउ परेका छन् । स्थानीय व्यक्तिहरुलाई मिटर ब्याजको फन्दामा पारेर अदालतमा मुद्धासमेत हालेर सास्ती दिदै आएका शेषलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । थोरै पैसा दिने र कतिपयलाई पैसा नदिएर खाली चेक लगी आफै रकम भरेर मुद्धा हाल्ने गरेका कारण आफुहरु अन्याय परेको पीडितहरुको गुनासो थियो ।

साँवाभन्दा बढी ब्याज तिर्दा पनि उम्कन नसकेका र कतिपयहरु ऋण नै नलिएको परिबन्दमा परेर मिटर ब्याजीको अनावश्यक मानसिक तनाब खेप्नु परेको पीडितहरुको गुनासो र प्राप्त कागजातका आधारमा असार १७ गते नागरिकधार डटकममा
कृष्णनगरः मिटर ब्याजको चक्रब्यूँहुमा स्थानीय शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

ऋणीबाट खाली चेक माग्ने र पछि आफैँ रकम भरेर प्रहरी र अदालतमा मुद्धा हाल्ने गरेका रइसले लामोसमयदेखि धन्दा चलाउँदै आएको पाइएको छ । हाल इलाका प्रहरी कार्यालय कृष्णनगरमा अभद्र व्यवहार सम्बन्धि मुद्धा चलाएर थप अनुसन्धान अघि बढाइएका मिटर ब्याजी रइसमाथि पीडितहरुले आपराधिक लाभ, ठगी, किर्ते, विश्वासघात र सम्पत्ति शुद्धिकरण लगायत मुद्धाहरु दर्ता गर्ने तयारी गरेको बताईएको छ । नेपालको प्रचलित कानुनअनुसार चर्को ब्याज असुल्न पाइँदैन, यो दण्डनीय अपराध मानिन्छ ।

राजनीतिक शक्ति, प्रहरीसँगको पहुँच र न्यायलयको प्रभाव देखाएर मिटर ब्याजको धन्दा चलाउँदै आएका रइस अहिले कानुनी कटघरामा पुगेका छन् । कृष्णनगर नगरपालिका वडा न २ कृष्णनगरका मोहम्मद रइस शेषले करिव ५० जनाभन्दा बढि व्यक्तिहरुलाई पीडित बनाएको पीडितहरुको भनाई छ । अनुसन्धान स्रोतका अनुसार रइसमाथि अभद्र व्यवहारमा मुद्धा चलाइएको बताउँदै पीडित भनेर आउनेहरुमाथि यसअघि नै जिल्ला अदालत तौलिहवा र उच्च अदालतमा मुद्धा चलिरहेकाले मिटर ब्याज सम्बन्धि मुद्धा प्रहरीले लिन नमिल्ने भएको यो बिषय जिल्ला प्रशासन कार्यालयमा जाने बताए । उनले भने, मिटर ब्याजको बिषय सीडीओ साबले हेर्नेगरी अधिकार दिइएको छ । पीडितहरुले प्रहरीमा भन्दा सीडीओ कार्यालयमा उजुरी गर्दा उचित होला ।

पीडित गुलाम मोहम्मदले आफुले आपराधिक विश्वासघात कसुरमा मुद्धा दायर गर्ने भन्दै दोषीउपर कानुन अनुसार कारबाहीको माग गरेका छन् । पीडितहरु सन्तोष कुमार कोरी, मोहम्मद सलिम, अब्दुल रहमान दर्जी विचरी कोरी, प्रभुनाथ कोरी चन्द्रा पासी लगायतले पक्राउ परेका मिटर ब्याजी रइसमाथि दायर हुने मुद्धाहरुमा सुक्ष्मरुपले अनुसन्धान गरी पीडितहरुलाई न्याय दिनुपर्ने बताउँदै थप ८ जनाले मुद्धा दर्ताका लागि तयारी गरेको बताएका छन् ।

पीडितहरु भन्छन्, पैसा चाहियो भनेपछि झट्टै विश्वास जित्ने, आधारको लागि चेक देउ, केही हुँदैन भनेर सादा चेक लिने, पैसा तिरेपछि पनि चेक फिर्ता नदिने, आफै रकम भरेर चेक अनादर मुद्धा अदालतमा हाल्ने लगायत कार्य गर्दै आएको थियो । हामी धेरैजना यस्तो समस्याबाट पीडित भएका छौं ।

यस्तो छ रइसले मुद्धा हालेका व्यक्ति र रकम
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा २ अकबाल हुसेन हलवाई माथि १५ लाख, कृष्णनगर नगरपालिका वडा न ३ का अब्दुल रहमान माथि ९ लाख ५० पचास हजार, कृष्णनगर नगरपालिका वडा न २ कृष्णगनरका अलताब हुसेन हलवाई माथि २० लाख, कृष्णनगर नगरपालिका वडा न १० बकौलीका सन्तोष कुमार कोरीमाथि २८ लाख, विजयगर गाउँपालिका वडा न ७ गणेशपुरका विचारी कोरी माथि ३५ लाखको चेक बाउन्स मुद्धा, विजयनगर गाउँपालिका वडा न ७ ढोढरीका मोहम्मद सलिम पठान माथि ६ लाख ९० हजार, सोही गाउँपालिका वडा न ३ का रामचन्द्र कुर्मी माथि ४२ लाख, राम कुमार चौहान माथि ३५ लाख, जीतेन्द्र कोरी माथि ३२ लाख, प्रभुनाथ कोरी माथि २ लाख ५० हजार रुपैयाँ ऋण दिएर यसको ४८ लाख लिएर पछि २० लाखको तमसुक गराएको, अशोक कुमार तेलीमाथि ५ लाख रुपैयाँ ऋणमा रइस आफु साक्षी बसी जालसाजी गरेर ऋणको सबै पैसा लिएको, राजमती पासी माथि ९ लाखको चेक बाउन्स, तुफैल अहमद खा माथि २५ लाखको तमसुक, गुलाम मोहम्मद माथि ३२ लाख, जैस मोहम्मद माथि ३ लाखको चेक बाउन्स र २ लाखको तमसुक गराएको, चन्द्रा पासी ३ लाखको चेक लिएर पैसा भोली दिन्छु पर्सी दिन्छु भनेर आज सम्म न चेक फिर्ता गरेको, न ऋण बापत पैसा दिएको, खाली चेक माग्दा रइसले उल्टै ९ लाख रुपैयाँ मागेको नदिए मुद्दा हाल्ने धम्कीसमेत दिने गरेको पीडितको भनाई छ । यी व्यक्तिहरुमाथि अहिले जिल्ला अदालत तौलिहवा र उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्धा चलिरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *