डिंगरनगर दूरगामी सहकारीका व्यवस्थापक वसन्त पराजुलीद्धारा आत्मसमर्पण

समाचार

पशुपति उपाध्याय तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरुको करोडौं रकम अपचलन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ । करोडौं रकम अपचलनको घटना सार्वजनिकपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा (क्षेत्री) सँगै सम्पर्कविहीन भएका व्यवस्थापक वसन्त पराजुलीले शुक्रवार दिउँसो आत्मसमर्पण गरेका छन् ।

करिव दुई हजार २ सय सदस्य रहेको सहकारीमा प्रमुख सञ्चालक समितिका अध्यक्ष र सचिव भागेपछि आक्रोशित बचतकर्ताले बिहीबार साँझदेखि राति १ बजेसम्म अध्यक्ष र सचिवको घर घेरेर बचतकर्ताको रकम फिर्ता गर्न माग गर्दै दोषीउपर कारबाही गर्नुपर्ने नाराबाजी गरेपछि शुक्रवार दिउँसो प्रहरीको सुरक्षा घेरामा सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा अडिट गर्ने कार्य भइरहेका बेला व्यवस्थापक पराजुलीले सहकारीकै केही व्यक्तिहरुको साथमा आएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।

वडा प्रहरी कार्यालय रामनगर बुटवलको प्रहरी टोलीसमक्ष आत्मसमर्पण गरेका व्यवस्थापक पराजुलीले अडिटरसामु सहकारीको डे वानदेखि नै हिसाब हेर्नुपर्ने बताएको स्रोतले जानकारी दिएको छ । आफ्ना भनाई राखेका पराजुलीलाई शुक्रवार (हिजो) नै इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको र आईतबार (भोली) सरकारी वकिलको कार्यालयमा बयान गराएर अदालत पेश गरिने इलाका प्रहरी कार्यालय बुटवलका मुद्धाफाँटका प्रमुख धर्मराज खत्रीले बताए ।

व्यवस्थापक पराजुलीले तीन जना शेयर सदस्यको नाममा देखाइएको किर्ते ऋण र आफुसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण गरी नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ अपचलन गरेको २०८२ साल जेठ ५ गते कबुलियतनामा गरिएको एउटा तमसुक फेला परेको छ । तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गराइएको होकी व्यवस्थापक पराजुलीले आफै गरेका हुन् भन्ने तथ्य अडिट रिर्पाेटपछि मात्रै थाहाँ हुने नाम नखुलाउने सर्तमा एक कार्यसमिति सदस्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *