चौराहा-गोलपार्क सडक विस्तारः ठेकेदारलाई सब वेश पाउनै सकस

समाचार

गगन पौडेल बुटवल। बुटवलस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत चौराहादेखि सिद्धार्थ राजमार्गमा पर्ने गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार गर्न २०७३ चैत १३ गते (९ वर्षअघि) २०७६ सालसम्म विस्तार सक्नेगरी द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई ठेक्का दिइयो । भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४ सय ६७ रुपैयाँमा ठेक्का पाएको जेभीले पहिलो चरणमा सडक क्षेत्राधिकारभित्र पर्ने घर भत्काउन शुरु गरेपछि घरधनीले घर भत्काउन नदिने भन्दै अदालतमा मुद्धा हालेर अवरोध गरे ।

अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट प्रविधिबाट पिच गर्ने योजनासहित ठेक्का लगाइएको सडक विस्तार कोरोना महामारीले मात्रै प्रभावित बनाएन निर्माण कम्पनीकै लापरबाहीका कारण पटक पटक म्याद थप गरिदै समय लम्ब्याइयो । समयावधि थपिएको अंकगणित गर्ने हो भने जेभीले नाली खन्ने र केही घर भत्काउने काम मात्रै गरेर गुमनाम भयो, प्रगति शुन्य रह्यो । अधकल्चो सडक हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे भएपछि हाइवेका घरधनी र व्यवसायीहरु प्रताडित बने, पैदलयात्रीले सास्ती खेपे र यातायात व्यवसायीले दुर्घटनाको जोखिमसँगै सवारी बिग्रिने समस्याको हैरानी बेहोर्न पुगे ।

८ वर्षमा पनि सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेर गत वर्ष असोजमा बाबुल दर्शन मालिका जेभी भैरहवालाई २०८१ असोज १८ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ३३ करोड रुपैयाँमा ठेक्का दिएको छ । अहिले सर्भिस लेनको कालोपत्रे गर्ने काम धमाधम शुरु भएको छ भने राजमार्ग चौराहादेखि हस्पिटल लाइनको भुट्कीचोकसम्म पूर्वी सर्भिस लेनको कालोपत्रेको काम सकिएको छ, पश्चिम तर्फ नयाँ बसपार्कसम्म पुगेको छ ।

निर्धारित समयभन्दा धेरै मिति बित्दा पनि निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडेर नयाँ निर्माण व्यवसायीलाई कामको जिम्मा दिएपछि पछिल्लोसमय सडक विस्तारले तीव्रता पाएको छ । गत असोजमा एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा अहिले निर्माण कार्यप्रगति दुबै लेनको कुल दुरी ६ किलोमिटर हुन आउँछ, जसमध्ये तीन हजार ८ सय मिटर (३.८) किलोमिटर कालोपत्रे भइसकेको छ, पुष्पलाल पार्क र ट्राफिक चोकको पूर्वतिर छोडेर नाली बनाउने ९६ प्रतिशत काम सम्पन्न भएको छ । भने, खन्ने र सब वेश हाल्ने काम जारी छ ।

यो नौ महिनाको अवधिमा निर्माण कार्यले जति फट्को मार्नुपर्ने थियो, त्यति अगाडि बढ्न सकिन । हामीले लिएको लक्ष्य अनुसार काम गर्न कोसिस गर्दा पनि सकेनौं, यसमा सम्बन्धित निकाय र सरोकारवालाको साथ पाइएन, चैत्र महिनामा हामीले सर्भिस लेनको कालोपत्रे सक्ने थियौं, जतिबेला सब वेश पाएनौं, बुटवल उपमहानगरसँग समन्वयका लागि धेरै बिन्ती गर्यौ, एक ट्यांकर पानीसमेत सहयोग भएन, स्थानीय तिनाउ नदीबाट नदिजन्य पदार्थको निकासीका लागि ठेक्का हालेर लिन्छौं भन्दा पनि कुनै वास्ता गरिएन, हामीले सब वेशका लागि छिमेकी दुई जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम र कपिलवस्तुसम्म खाज्यौं, थौरे पाएको महंगो ल्याएर केही काम गर्यौं प्रर्याप्त नपाएपछि केही समय काम रोक्न बाध्य भयौं बाबुल दर्शन मालिका जेभीका प्रोजेक्ट इन्जिनियर प्रवीण मिश्रको भनाई छ ।

इन्जिनियर मिश्रले थपे(हामीले तोकिएकै समयमा सक्नेगरी जनशक्ति र प्रविधि लगाएर दिनमा र रातमा काम गर्दै आएका छौं । तर सब वेश नपाएर लक्ष्य पूरा गर्न नसकेको पीडा हामीसँग छ । यसैबिचमा पनि हामीले वित्तिय प्रगति ३६ प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत सकिसकेका छौं । असोज १७ गते (७४ दिन) म्याद सकिने मितिभित्र निर्माणकार्य सक्नेगरी कामलाई तीव्रता दिएका छौं । पछि थपिएको डिजाइनले ढिलाई हुने देखा परेको छ । हाम्रो तर्फबाट कुनै कमिकमजोरी भएको छैन् । एक किलोमिटरमा टायलसमेत लगाउने काम गरेका छौं ।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले निर्माण कम्पनीले उत्साहपूर्ण तरिकाले निर्माणलाई गति दिएको छ । तोकिएको समयमै सक्नेगरी निर्माणमा जुटेका छौं । तर सडक विभागबाट थप गरिएको डिजाइनको भिओ भेरिसियन हुन कतै ढिलाई भएर एक पटक म्याद थप्नुपर्ने बाध्यता आउने होकी भन्ने डर पैदा भएको छ, त्यो काम छिट्टै भएमा उक्त कार्यलाई पनि शुरु गर्ने थियौं ।

नयाँ डिजाइन भिओ एप्प्रुफ नहुँदा ढिलाई हुने
शुरुमा बनाइएको सडक विस्तारको डिजाइन पछिल्लोसमय फेरबदल भएकाले निर्धारित समयमा ठेक्का सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ढिलाई हुने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार पुरानो डिजाइन अनुसार हुन्थ्यो भने, हामीले निर्माण समयमै सकाउथ्यौं, तर पछि फूटपात, रेलिङ र सडक बत्ति थपिएकाले त्यसको डिजाइन अझै भिओ एप्प्रुप नभएकोले तोकिएको मितिभन्दा थप एक महिनापछि मात्रै निर्माण कार्य सकिन्छ ।

चुनावी जस लिन दलको रंगमञ्च
ठेक्का प्रकरणदेखि नै राजनीतिक रंग देखिएको विस्तारमा अहिले झन बढ्दै गएको देखिन्छ । ठेकेदारको चरम लापरबाही, घरधनीहरुको रोकावट लगायत बिषयमा खुलेर बोल्न नसकेका दलहरु पछिल्लोसमय निर्माण कम्पनीले विस्तार कार्यलाई निरन्तरता दिँदै गएपछि यतिबेला कालोपत्रे हुँदै गरेको सडकमा पुगेर हाम्रा योजना र हामीले गर्दा भएको हो भन्ने फेसबुके अलोकप्रियताको होड मात्रै होइन, वर्तमान सत्ता गठबन्धनका दुई ठूला पार्टीका स्थानीय नेता कार्यकर्ताले फोटो प्रदर्शन गर्दै राजनीतिक अनुगमनसमेत गर्न भ्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *