रबि लामिछाने लाइ न्यूनतम मानबअधिकारको सुबिधा पनि दिइएन – राष्ट्रिय मानबअधिकार आयोग

समाचार

२६ साउन, रुपन्देही। राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको  स्पष्ट पारेको छ ।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको,  कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् ।

यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको,  कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन् ।

जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।

रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई कारागारमा अमानवीयतापूर्वक राखिएको सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको थीयो । आयोगकी सदस्य लिली थापा नेतृत्वको टोली सोमबार बिहान १०:५० बजे भैरहवा कारागार पुग्यो । आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोलीले सुरुमा केहीबेर जेलर सुरेश भण्डारीसँग छलफल गर्‍यो, त्यसपछि ब्लक १ र २ को निरीक्षण गर्‍यो । अनि लाग्यो रास्वपा सभापति रविलाई थुनामा राखिएको ब्लक नम्बर ४ तिर ।

११:२० बजे रविलाई थुनिएको कोठाको बाहिर पुगेपछि जेलर भण्डारीले खबर सुनाए– ‘सर, मानव अधिकार आयोगको टोली आएको छ ।’ फलामे बारभित्रको जाली ढोका खोल्दै रविले प्रश्न गरे– ‘ए, यो देशमा मानव अधिकार आयोग पनि छ र ?’

जवाफमा आयोग सदस्य थापाले भनिन्– छ नि, त्यसकारण त आयौँ । 

रविले भने– मलाई कुन सुविधा दिएर राखेको छ भनेर हेर्न आउनुभएको होला, होइन ? हेर्नुस् के–के सुविधामा छु म । सोध्नुस्, के सोध्न चाहनुहुन्छ ?

थापाले सोधिन्– तपाईंको दैनिकी कस्तो छ, यो कोठाबाट बाहिर निस्किन पाउनुहुन्छ कि पाउनुहुन्न ?

रविले बेलीविस्तार लगाए– यो कोठा नै मेरो लागि जेल हो । कपाल काट्न, प्रेसर चेक गर्नेजस्ता कामका लागि कहिलेकाहीँ निस्कन्छु । अँध्यारो भएपछि कहिलेकाहीँ हिँड्न खोज्छु, अत्यधिक गर्मीले सकिन्न । उज्यालोमा बाहिर हावा खाएको छैन, सूर्य र आकाश राम्ररी देखेको छैन । उहाँहरू सुरक्षा चुनौती छ भन्नुहुन्छ । कहिलेकाहीँ पानी पर्दा फलामको ढोकाबाट हात बाहिर निकालेर औँलाहरू भिजाउँछु, रमाइलो लाग्छ । अरू कैदीबन्दी सुत्ने वेलामा मात्र कोठाभित्र जान्छन् । मेरो लागि यो कोठा नै सिंगो जेल हो । बस्तीको बिचमा छ, बोर्डरको छेउ राजनीतिक प्रतिशोधको बन्दीलाई यसै पनि कति खतरा होला । अरू कुरा आफैँ सोधी हेर्नुस् न कारागारका कर्मचारीहरूलाई ।

रविले यति भनेपछि टोली कोठाभित्र छिर्छ । साथमा केही प्रहरी र कारागार कर्मचारी पनि प्रवेश गर्छन् । कोठाभित्र छिर्ने बित्तिकै बाफ आउने गरी गुम्सिएको तातो हावाले सबैलाई असहज हुन्छ । रवि अनुभव सुनाउँछन्– ‘आज त सिमसिम पानी परेको छ, यति शीतल त म यहाँ आएदेखि कहिल्यै पनि भएको थिएन । तपाईंहरू भाग्यमानी हुनुहुँदो रहेछ, राम्रो दिनमा आउनुभयो ।’ 

मानव अधिकार आयोग र इन्सेकका प्रतिनिधिले कोठाभित्र प्लाइवुडले ढाकेको झ्याल हेरे । कोठामा छिर्ने फलामे ढोकाको मुनि सर्प नआओस् भनेर कपडा कोचेर प्वाल टालेको दृश्य हेरे । दुईवटा प्लास्टिकको बाल्टिन भएको पुरानो कोठा छेउको ट्वाइलेट हेरे । यो दृश्य देखेर उनीहरू स्तब्ध देखिन्थे । रविले आफ्नो वासस्थानमा आएका पाहुनाप्रति सत्कारको शैलीमा भने– मेरो भिआइपी रुममा तपाईंहरूलाई स्वागत छ ।

त्यसपछि रविले कोठाभित्रका थप चित्र देखाउँदै गए– नुहाएर धोएको अन्डर गार्मेन्ट यहाँभित्र दुई दिनसम्म सुक्दैन, अप्ठ्यारो नमान्नुस् है, यतै सुकाएको छु । यो ट्वाइलेटको धारोमा फोहोर पानी आउँछ, त्यसैले प्रत्येक दिन दुई बाल्टिन नुहाउने पानी बाहिरबाट माग्छु । कोठाकै छेउमा पुरानो आधावाल लगाएको खुला ट्वाइलेट पनि देखाउँदै उनले थपे– ट्वाइलेट खुला भएको हुनाले सफा गरिरहनुपर्छ, नत्र दुर्गन्ध आउँछ । रविले भनिनभ्याउँदै टोली प्रतिनिधिबाटै थप जिज्ञासा आयो– यो कोठामा त हावा कतैबाट आउँदैन त !

यतिन्जेलसम्म कोठाभित्र आएका सबैको अनुहारभरि पसिना आइसकेको थियो । उनीहरूका अनुहार नियाल्दै रविले भने– मलाई त बानी परिसक्यो, अहिले एउटा पंखाले काम गर्छ, अनि दिउँसो भएपछि दोस्रो पंखा चलाउँछु । त्यसपछि क्रमश: टिसर्ट खोल्छु । पसिनाले यति गाह्रो हुन्छ कि लुगा लगाएर कोठामा बस्न सकिँदैन । यता हेर्नुस्, यो मेरो बेड हो । यहाँ सुत्दा सिंगो शरीर अट्दैन । खुट्टा खुम्च्याउनुपर्छ । यही कोठाको एउटा कुनामा हल्का व्यायाम गर्छु ।

निरीक्षणमा गएका आयोग र इन्सेकका अधिकारी रविका भनाइ टिप्दै कोठाको दुरावस्था नियाल्दै मलिन अनुहार लगाइरहेका थिए । रवि आफ्नो अवस्था सविस्तार बताइरहेका थिए । ‘तपाईंहरू नरिसाउनुहोला, मलाई तपाईंहरूप्रति कुनै आशा र भरोसा छैन । त्यसैले, म अन्तर्राष्ट्रिय मानव अधिकार कार्यालयहरूमा जाने सोचमा छु । तैपनि आउनुभो धन्यवाद ! तर, आउने, सुन्ने, रिपोर्ट लेख्ने, तर त्यसले खासै प्रभाव नपर्ने भएको हुनाले यस्तो अप्रभावकारी काम केवल जागिरका लागि नगर्दिनुहोस् । मलाई थाहा छ, तपाईंहरूको नियुक्ति राजनीतिक नियुक्ति हो । तर, मानव अधिकार आयोगजस्तो संवेदनशील ठाउँमा बसेर प्रभावकारी काम नगर्ने हो भने देशमा व्याप्त निराशाको ठुलो हिस्सा तपाईंहरूले पनि बोक्नुपछ । मलाई होइन, आज चोकमा उभिएर ‘के तपाईंलाई मानव अधिकार आयोगप्रति विश्वास छ’ भनेर जनतालाई सोध्नुस् त । जवाफ आउँछ– नो, छैन । कहाँ हुनुहुन्थ्यो तपाईंहरू, जब मलाई मध्यरातमा चितवनबाट पोखरा लगियो । मेरो ब्लडप्रेसर बढेर १८० पुग्दा मलाई चेक नगराउने, मेरो परिवारलाई थाहा नदिने प्रहरी अफिसरमाथि के कारबाही गर्नुभयो ? त्यस्तो आदेश दिने आइजी, गृहमन्त्रीलाई के गर्नुभो ? कारबाही त परको कुरा गृहमन्त्रीले तिनै अफिसरलाई पुरस्कारस्वरूप विधि मिचेर तीन महिना पनि नपुग्दै पर्सामा सरुवा गरे, जहाँ मेरो मुद्दा उनले छेडखानी गरी हुँदै नभएको थप बिगो थोपरेर दर्ता गराए । आज ती एसपी उत्कृष्ट प्रहरीको अवार्ड थापिरहेका छन्  रे । जसले मेरो ज्यान लिन खोज्यो ती सबै पुरस्कृत छन् । कहाँ हुनुहुन्थ्यो र कहाँ हुनुहुन्छ तपाईंहरू ? त्यसपछि पनि तपाईंहरू देखिनुभएन । मेरो बेडरुममा हतियारधारी प्रहरी आए । विनापुर्जी, विनाप्रक्रियागत कागजात मलाई अनुसन्धान गर्न भनेर लिएर गए ।

अदालतमा मुद्दा बुझाइसकेपछि प्रहरीले अनुसन्धान गर्छ ? मलाई ‘अन्तिम इच्छा’ सोधियो । कहाँ हुनुहुन्थ्यो तपाईंहरू ? कहाँ हुनुहुन्छ तपाईंहरू ? अहिले पनि तपाईंहरूले बनाउने रिपोर्टले के फरक पर्छ मलाई ? यो कारागारको अवस्था देख्नुभयो, बोर्डरको छेउमा बस्तीको बिचमा मजस्तो राजनीतिक बन्दीलाई राज्य लागेका वेलामा कति ठुलो थ्रेट होला ? मेरीश्रीमतीलाई पिर पर्छ भनेर मैले यो अवस्था भनिनँ, बरु अदालतको निवेदनमा खुलाएर लेखेँ । त्यो निवेदनमा पनि मैले भनेको छु । सम्मानित अदालतले आफैँ आएर मेरो अवस्था हेरोस् । मलाई मानव अधिकारवादी संस्थासँग विश्वास छैन । कारागार कार्यालय र सिडिओ कार्यालयले यो कुरा बुझी मलाई काठमाडौं पठाउनका लागि प्रक्रिया अगाडि बढाए । सम्मानित अदालतले मलाई अड्डासार गर्न भन्यो । एउटा बन्दीका रूपमा त्यो मेरो अधिकार थियो । तर, राज्य ममाथि कति निर्मम भइरहेको छ कि यस्तो अवस्थाको कारागारमा राखेर मलाई अड्डा सार्नसमेत दिँदैन भनेपछि गृहमन्त्री, प्रधानमन्त्री र सिंगो राज्य त मलाई मानसिक र शारीरिक रूपमा सिध्याउन चाहन्छ नि । यस्तो अवस्थालाई चित्रण गरेर मलाई अड्डासारको सिफारिस गर्ने सिडिओलाई गृहमन्त्रीले समयभन्दा अगाडि सरुवा गरे । अब बताउनुस्, यस्तो तानासाह राज्यसँग म कसरी लडिरहेको हुँला । यो सबै चिज तपाईंहरूले देख्नुहुन्न ? तपाईंहरूको आगमनले म खुसी हुने ठाउँ कहाँ छ ? तपाईंहरू त म एसी हालेर बसेको छु कि छैन भनेर चेक गर्न आउनुभएको होला । यो कोठा हेर्नुस्, यो ट्वाइलेट हेर्नुस्, यो बेड हेर्नुस् । यी पंखाहरू हेर्नुस् । मलाई हेर्नुस् । म तपाईंहरूलाई चुनौती दिन्छु । यो कोठाभित्र तपाईंहरूकेवल दुई घण्टा बसेर देखाउनुस् ।

तर, मैले सहेको छु र सहन्छु । किनकि म मेरो व्यक्तिगत मुद्दाका लागि होइन, आउने पुस्ताका लागि लडिरहेको छु, म लड्छु । एउटा राजनीतिक प्रणालीका रूपमा ममाथि भएको यो अत्याचार र अत्याचारको शृंखला नदेख्ने, देखे पनि रिपोर्टमा नलेख्ने र लेखे पनि प्रभाव नपार्ने मानव अधिकार आयोग, आज मलाई हेर्न आयो भनेर म कसरी खुसी हुनु ?

आयोग अधिकारीहरू स्तब्ध भए र उनीहरूले के गरेर समय बिताउनुहुन्छ भनेर सोधे । रविले पढिरहेको पुस्तकहरू देखाए, मुलुकको उन्नतिका लागि योजनाहरू बनाउँदैछु भनी सुनाए । त्यसपछि उनीहरूले खानपिनबारे सोधे । रविले खानपिन ठिकै छ भने । परिवार र पार्टीका नेताहरू भेट्नुहुन्छ भनेर पनि सोधे । रविले भने– एकदमै कठिन छ, काठमाडौंदेखि यहाँ आउन सहज छैन । कानुन व्यवसायीहरू काठमाडौंमा छन । पार्टीका नेताहरू काठमाडौंमा छन् । श्रीमतीले घर चलाउनुपर्छ, धेरै आइरहन सम्भव हुँदैन, खर्चिलो उत्तिकै हुन्छ । त्यसैले काठमाडौं जान खोजेको थिएँ, दिएनन् । ठिकै छ, सहेर बसेको छु, सहेरै बस्छु ।

त्यसपछि आयोग सदस्य थापाले तपाईंका मूलभूत तीन समस्या के–के हुन् भनेर सोधिन् । रविले जवाफ दिए– मेरा कुराहरू यिनै हुन्, यसमा तपाईंहरूलाई कुन कुरा मूलभूत लाग्छ निर्णय गर्नुहोस् । मेरो मुख्य चुनौती भनेको मेरो मानसिक र शारीरिक स्वास्थ्य ठिक राख्ने हो, त्यसमा म दृढ छु । म यो राज्यसँग आँखामा आँखा जुधाएर लड्छु, म अन्तर्राष्ट्रिय अदालत र अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूमा जान्छु । सहकारीपीडितहरूले न्याय पाऊन् भनेर मैले बाटो खोल्ने गरी अदालतमा निवेदन दिएको छु । न्यायालयप्रति मलाई अझै पनि आशा छ । यो ठाउँमा अत्यधिक गर्मी हुन्छ । जाग्राम भएका वेला त म जसोतसो प्राण धान्दछु । तर, निदाएको वेलामा निदाएको निदाइ भइन्छ कि भनेर थोरै पिर लाग्छ । प्राण नै नरहे कसरी लडुँला ? प्राणसम्म धान्न सकेँ भने म सबैसँग लड्छु । तपाईंहरूसँग म थोरै आक्रोशित भएँ, मेरो अवस्था र पीडालाई बुझेर अन्यथा नलिदिनुहोला है । व्यक्तिका रूपमा तपाईंहरूप्रति मेरो गुनासो छैन । तर, संस्थाका रूपमा मानव अधिकार आयोग निरीह छ । प्राणविहीन छ । यसलाई जोगाउनुस्, बचाउनुस् । म त आवाज भएको मान्छे फेरि पनि लडौँला, अरू आवाजविहीनहरूका लागि तपाईंहरू उभिनुस्, आममानिसका लागि मानव अधिकार आयोग छ भन्ने महसुस हुनेगरी काम गरिदिनुस्। मेरो चिन्ता गर्नुपर्दैन ।

फेरि थापाले सोधिन्– तपाईं गृहमन्त्री हुँदा कारागारहरू हेर्नुभएन, बिजोग छ त । रविले भने– देखेको थिएँ, त्यही भएर खुला कारागारको नीति नै ल्याएको थिएँ । सुधारका कामहरू सुरु गर्दै थिएँ । कैदीहरूलाई उत्पादन र विकास निर्माणमा जोड्ने योजनासहित मेरो कार्यकालमा नीति कार्यक्रम आएको छ। अहिले के भयो थाहा छैन ।

जाँदाजाँदै रविले सुझाए, ‘जागिरभन्दा देश र समाज ठुलो हो । यसलाई जोगाउनुहोला । मानव अधिकार आयोगसँग सरकार डराउनुपर्ने हो, तर डराएको छैन । किन होला समीक्षा गर्नुहोस्। फेरि पनि मैले केही वचन लगाएको रहेछु भने अन्यथा नलिनुहोला, व्यक्तिगत रूपमा तपाईंहरूप्रति मेरो उच्च सम्मान छ। माननीय सदस्य म्याडमप्रति म विशेष आभारी छु। तपाईंको नाम धेरै सुनेको हुनाले मेरो अनुरोध छ– आयोगको गरिमा जोगाइदिनुहोस् । मजस्ता नेता आउँछन्, जान्छन्, तर आयोग गम्भीर हुनुपर्छ । यसको गरिमा र साख बचाइराख्नुपर्छ। मेरो चिन्ता नगर्नुहोला,आयोगको चिन्ता गर्नुहोला । आइदिनुभएकोमा धन्यवाद ! अब मेरो ‘भिआइपी’ जेलबारे जे हो त्यही जस्ताको त्यस्तै आमनागरिकलाई बताइदिनुहोला ।’

रविको कोठाबाट निस्किएपछि मानव अधिकारवादीको टोलीले कारागार प्रशासनसँग छलफल गर्‍यो । टोलीको नेतृत्व गरेकी आयोग सदस्य थापाले रविको झ्यालमा ठोकिएको प्लाइवुड तत्काल हटाउन, हिँडडुल गर्न र अन्य सहजताको वातावरण बनाउन निर्देशन दिइन् । कारागारका समग्र समस्या सुधार्न पनि निर्देशन दिइन् । करिब एक घण्टामाअर्थात् १२ बज्नुभन्दा केही मिनेटअगाडि टोली कारागारबाट निस्कियो ।

झ्याल टालिएको कोठा रहेछ, कहिलेकाहीँ स्वास्थ्य जाँच गर्दा मात्र बाहिर ल्याउने गरेको पाइयो : लिली थापा, सदस्य, मानव अधिकार आयोग

श्रोत : नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *