नेपालगन्जमा ‘सञ्चार संवाद’ को औपचारिक यात्रा सुरु: जिम्मेवार पत्रकारितामा जोड

समाचार

नेपालगन्ज माघ २, नेपालगन्जमा स्वतन्त्र, उत्तरदायी र व्यावसायिक पत्रकारिताको अभ्यासलाई थप सुदृढ बनाउने लक्ष्यका साथ ‘सञ्चार संवाद’ ले आफ्नो औपचारिक यात्रा आरम्भ गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले एक विशेष समारोहका बीच रिवन काटेर संस्थाको कार्यालय उद्घाटन गर्नुभएको हो।

​उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. आचार्यले पत्रकारिताको निश्चित मर्म र मापदण्डभित्र रहेर कार्य गर्ने पत्रकारले कहिल्यै कुनै समस्या झेल्नु नपर्ने बताउनुभयो। आफ्नै कर्मभूमिमा आयोजना गरिएको यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दै उहाँले समुदायसँग जोडिएर जिम्मेवार ढंगले काम गर्न र समाजमा कुनै आक्षेप नलाग्ने गरी पत्रकारिताको धर्म निभाउन सञ्चार संवाद परिवारलाई शुभकामना दिनुभयो।

​कार्यक्रममा विशिष्ट अतिथि सुक्रऋषि चौलागाईंले पत्रकारिताको असली शक्ति यसको विश्वसनीयता र आचारसंहितामा अडिएको उल्लेख गर्नुभयो। उहाँले विवादभन्दा टाढा रहेर तथ्य र सन्तुलनमा आधारित सामग्री पस्कन सुझाव दिँदै पत्रकारले सधैं व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको ऐना बन्नुपर्नेमा जोड दिनुभयो।

​नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सञ्चार संवादको आगमनले नेपालगन्जको पत्रकारिता क्षेत्रमा नयाँ इँटा थपेको बताउनुभयो। उहाँले पत्रकारिताको गुणस्तर उकास्न महासंघले यो संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। त्यस्तै, महासंघका पूर्व अध्यक्ष निरज गौतमले यस संस्थाको स्थापनालाई स्थानीय पत्रकारिताको क्षेत्रमा एक सकारात्मक र नयाँ अध्यायको रूपमा चित्रण गर्नुभयो।

​संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चार संवादका अध्यक्ष डा. डक्ट प्रसाद धितालले यो पूर्णतः मुनाफारहित, स्वतन्त्र र गैरदलीय संस्था भएको प्रष्ट पार्नुभयो। उहाँले संवादलाई कुनै पनि राजनीतिक प्रभावबाट मुक्त राख्दै निष्पक्ष र समाजप्रति उत्तरदायी मञ्चका रूपमा विकास गर्ने अठोट व्यक्त गर्नुभयो। संवाद र सहकार्यका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको बताउँदै उहाँले उपस्थित सबैप्रति आभार प्रकट गर्नुभयो।

​कार्यक्रममा प्रेस काउन्सिल नेपालकी उप–प्रशासकीय प्रमुख सबिता ढकाल, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे लगायत दर्जनाैँ पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *