नेपालगन्ज, बाँके
एकीकृत समाज संजाल बाँकेको आयोजना तथा नेपालगन्ज आँखा अस्पताल र नेसनल केयर अस्पतालको प्राविधिक सहकार्यमा एकदिवसीय नि:शुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेका अल्पसंख्यक एवं विपन्न चिडिमार समुदायलाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो।

चिडिमार समुदायको संस्था ‘बहेलिया चिडिमार विकास समिति’का अध्यक्ष श्री रामु चिडिमार तथा एकीकृत समाज संजाल बाँकेका उपाध्यक्षको विशेष साथ र समर्थनमा सञ्चालित सो शिविरबाट कुल १०६ जना स्थानीय नागरिकले प्रत्यक्ष स्वास्थ्य सेवा तथा आँखा परीक्षणको लाभ लिएका छन्। नेपालगन्ज वडा नं. १२ का वडा अध्यक्ष श्री तरुण कुमार बज्राचार्यको प्रमुख आतिथ्यता तथा एकीकृत समाज संजाल बाँकेका अध्यक्ष श्री माधव प्रसाद पोखरेलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बाँके जिल्लामा क्रियाशील विभिन्न जिल्लागत, जातीय तथा सामाजिक समाजका नेतृत्वदायी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। बाँकेमा छरिएर रहेका विभिन्न समाजहरूको साझा छाता संगठनको रूपमा कार्य गर्दै आएको एकीकृत समाज संजालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम गरेको संस्थाका महासचिव श्री राजाराम सुवेदीले जानकारी दिनुभयो।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू तथा ३२ वटा भन्दा बढी सामाजिक संस्थाहरूका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
जसमा अर्घाखाँची मिलन केन्द्र, रुकुमेली सेवा समाज, बाजुरेली सेवा समाज, कालिकोट एकता समाज, दैलेखी सेवा समाज र सुर्खेती सेवा समाज जस्ता जिल्लागत एवं क्षेत्रीय समाजहरूको सहभागिता थियो। साथै, नेपाल आदिवासी जनजाति महासंघ, बहेलिया चिडिमार समाज र स्वर्णकार समाज जस्ता जातीय तथा सामुदायिक संगठनहरू, समर्पण नेपाल, सामुदायिक प्रहरी सेवा केन्द्र र लागू औषध नि:शुल्क परामर्श केन्द्र जस्ता सामाजिक एवं सुरक्षा निकायहरू, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता श्री धुर्व वर्मा लगायत विभिन्न क्षेत्रका विशिष्ट नेतृत्वदायी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।
