नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको पावन अवसरमा समाजसेवी मुस्ताक अलि कबाडियाले १०० भन्दा बढी लक्षित तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको छ। आर्थिक रूपमा कमजोर, दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका तथा विभिन्न कारणले प्रभावित परिवारलाई राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
खाद्यान्न वितरण कार्यक्रममा चामल, दाल, खाने तेल, नून, चिनी लगायतका अत्यावश्यक उपभोग्य सामग्री समावेश गरिएको थियो। इदको अवसरमा कुनै पनि परिवार भोकै नबसोस् भन्ने सोचका साथ कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। वितरण कार्य व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो भने स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
कार्यक्रममा बोल्दै समाजसेवी मुस्ताक अलि कबाडियाले इद केवल धार्मिक पर्व मात्र नभई आपसी सद्भाव, भाइचारा, सहयोग र मानवीयताको सन्देश दिने अवसर भएको उल्लेख गर्नुभयो। उहाँले समाजका सक्षम व्यक्तिहरूले आफ्नो क्षमताअनुसार विपन्न वर्गलाई सहयोग गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो । “हामी सबै मिलेर सानो–सानो सहयोग गर्यौं भने धेरै परिवारको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो ।
उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र राहतका क्षेत्रमा समेत सहयोग विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
खाद्यान्न प्राप्त गर्ने स्थानीयवासीहरूले यस कार्यप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस्तो सहयोगले विशेष गरी चाडपर्वका समयमा ठूलो राहत मिल्ने र परिवारमा खुशी थपिने बताएका छन्। “इदको बेला यसरी सहयोग पाउँदा हामी निकै खुसी भएका छौं, यसले हाम्रो परिवारलाई धेरै सहज बनाएको छ,” एक लाभग्राहीले बताए।
कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहयोग र सद्भावको संस्कृतिलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ। यस्ता कार्यहरूले समुदायमा आपसी सहकार्य र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।



