नेपालगञ्ज, ११ असोज — एकीकृत समाज सञ्जाल, बाँकेको आयोजनामा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरिएको छ। नेपालगञ्जस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक विशेष समारोहका बिच नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थीयो ।
एकीकृत समाज सञ्जाल, बाँकेका अध्यक्ष माधव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष चिरंजीवी ओली प्रमुख अतिथि रहनुभएको थियो। समारोहमा स्वागत मन्तव्य राख्दै सञ्जालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुमार जोशीले सामाजिक सद्भाव, समन्वय र समग्र आर्थिक समृद्धिका लागि दुवै संस्थाबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवम् नवनिर्वाचित अध्यक्ष ओलीले निजी क्षेत्रको प्रवर्द्धनका साथै सामाजिक उत्तरदायित्व वहन गर्न आफू र आफ्नो टिम सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, जिल्लाका सामाजिक संस्थाका अध्यक्ष एवम् प्रतिनिधिहरू, सञ्जालका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन एवम् व्यवस्थापन सञ्जालका महासचिव तथा कार्यक्रम संयोजक राजाराम सुवेदीले गर्नुभएको थियो।
