काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष, प्रमुख प्रतिपक्षी र प्रतिपक्षमा रहेका दलहरूको सहमतीमै टिकटक बन्द गर्ने निर्णय गरेको दाबी गरेका छन्। नेपाल सम्वत्मा भक्तपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्।
उनले ‘अब पनि समाजमा विकृति विसङ्गति अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्नेहरूलाई के गर्ने होला भन्नेमा लामो छलफल र बहसको सहमतिपछि देशभित्रका सबै राजनीतिक दल सबैको लामो बहस र सहमतिपछि टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको दाबी गरे। उनले सम्बोधनमा टिकटकको नाम लिएनन्।
मन्त्रिपरिषदले गरेको निर्णयबारे बोलेकाले उनले टिकटकबारे नै बोलेका हुन् भन्ने पुष्टि हुन्छ। उनले कार्यक्रममा अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने अध्ययन गरेर निर्णय भएको भन्दै नेपाली समाजमा विकृति विसङ्गति फैलाउन चाहने शक्तिलाई नियन्त्रण गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर निर्णय गरेको दाबी गरे।
‘कम्तीमा म प्रधानमन्त्रीको हैसियतले नेपाली समाजमा विकृति,विसङ्गति फैलाएर जान चाहने शक्तिलाई नियमन गर्नेलाई नियमन गर्ने र नियमन गर्न नसक्नेलाई रोक्नुपर्छ भनेर निर्णय भएको हो’ उनले भने।
सरकारले मन्त्रिपरिषद बैठकबाट नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि अहिले अन्य सामाजिक सञ्जालमा निर्णयको विरोध भइरहेको छ।
उकेरा बाट