एनसेलविरुद्ध अमरेशले दर्ता गरेको रिट आज हेर्न भ्याइएन

समाचार

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ मा परेको छ। 

न्यायाधीश कुमार रेग्मीको एकल इजालासमा परेको रिट निवेदन आज आइतबार हेर्न नभ्याइनेमा परेको हो।

रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए।

यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भैसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भैसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भैसकेको छ।

कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढंगले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको दाबी गर्दै यता प्रतिनिधिसभाका सदस्य सिंह आफैले रिट निवेदन दर्ता गराएका हुन्। सांसद सिंहले संसद्को लोगो फुकालेर आफै बहस गर्ने बताइसकेका छन्। तर, आज मुद्दाको सुनुवाइ नै हुन पाएन।

सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो।

नागरिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *