नेपालगंज जेठ २० गते। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ मा वडा कार्यालयको एक लाख ५० हजार रुपियाँको आर्थिक सहयोगमा उत्तरहब्रहवा सिधनवा टोल विकास संस्थाले शुक्रबार र शनिबार गरी दुइ दिन सहिद तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको छ ।
वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेलका अनुसार तत्कालीन द्वन्द्वकालमा वडा भित्र रहेका बेपत्ता, घाइते तथा सहिद गरी ३५ द्वन्द्वपीडित परिवारलाई दुई दिने मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको हो ।तत्कालीन समयमा सरकार पक्ष र विद्रोही पक्ष दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारले एकले अर्को पक्षलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको हुँदा दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारलाई एकै ठाउँमा राखेर मेलमिलापमार्फत् सकारात्मक बन्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम गरिएको उनको भनाइ छ ।
कार्यक्रममा सहभागी भएका वडाका ३५ सहिद तथा द्वन्द्वपीडित परिवारलाई एक एक वटा छाता र एक एक वटा त्रिपाल वितरण गरिएको वडाध्यक्ष खरेलले जानकारी दिए ।