नेपालगन्ज उपमहानगरपालिका द्वारा आ. ब ०८१/८२ का लागि एक अर्ब ५० करोड ३८ लाख को बजेट प्रस्तुत

समाचार

नेपालगंज असार १० गते। नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार एक रुपैंयाको आयव्यय प्रस्तुत गरेको छ । सोमबार भएको १५औं नगर सभामा नगर उपप्रमुख कमरुद्दिन राईले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तावित बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) एक करोड, विशेष अनुदान (संघ) एक करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) दुई करोड चार लाख, समपूरक अनुदान (प्रदेश) एक करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख र वित्तीय समानिकरण (प्रदेश) दुई करोड पाँच ५ लाख रहेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नगर प्रमुख विष्टले समृद्ध सहर, नगरवासीको रहरु भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उपमहानगरपालिकाले लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमलाई निरन्तरता, अपांगता भएकाहरुको स्वास्थ्य बीमा, विद्यालयहरुमा सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयहरुको विपद व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने लगायत नीति तथा कार्यक्रम ल्याएको छ ।

सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २० का अध्यक्ष कौशल कुमार धोबी, वडा नम्बर ५ का अध्यक्ष सराफत अलि शेष र वडा नम्बर २ का मनोज कुमार श्रेष्ठ वडा नम्बर २१ का अध्यक्ष राजकुमार साहु, वडा नम्बर १८ का अध्यक्ष अध्यक्ष दीपक कुमार बर्मा, वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *