नदिजन्य पदार्थ अभाव खेप्दै चौराहा–चिडियाखोला ६ लेन सडक

समाचार

गगन पौडेल , रुपन्देही । दलहरुको चुनावी एजेण्डासमेत बनेको बुटवलको चौराह चिडियाखोला ६ लेन सडक आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडेर पुनः ठेक्का सम्झौता गरेपछि अहिले धमाधम निर्माणकार्य काम भइरहेको छ । २०७३ साल चैत १७ गते सम्झौता भई २०७६ सालभित्र सडक विस्तारकार्य सक्नेगरी ठेक्का लगाइएको थियो ।

तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गर्नेगरी ठेक्का पाएको द कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले अलपत्र पारेपछि पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मेले यहाँका स्थानीय र यात्रुहरुले सास्ती बेहोर्नु परेको थियो । शुरुमा ठेक्का पाएको निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दै काम नगरेपछि अलपत्र परेको सडक विस्तारलाई २०८२ साल असोज १८ गतेभित्र सक्नेगरी बाबुल दर्शन मालिका जेभी भैरहवासँग नयाँ ठेक्का लगाइएको थियो

६ लेन सडक विस्तार गर्न भ्याटसहित ३३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । यसअघि सडक डिभिजन कार्यालयले ८ वर्षसम्म म्याद थप्नुबाहेक कुनै प्रगति नभएपछि गत वैशाखमा नयाँ ठेक्का लगाएको थियो । यसअघि बिरुवा जेभी काठमाडौंसँग ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय बुटवलले बताएको छ ।

अहिले निर्माण कार्यलाई तीव्रता दिएको बाबुल दर्शन मालिका जेभीले चौराहदेखि भुट्की चोकसम्म दुवै सर्भिस लेनतिरको भाग सब वेश लेवल (नदिजन्य पदार्थ) को काम गरिसकेको र ट्राफिक चोकदेखि आदर्शनगर गेटसम्म सर्भिस लेन खन्ने काम गरिएको र खानेपानी पाइपको काम भइरहेको बाबुल दर्शन मालिका जेभीका साईड इन्जिनियर प्रवीण मिश्रले बताए ।

इन्जिनियर मिश्रका अनुसार सब वेश नपाउँदा काम प्रभावित हुन पुगेको र सब वेश पाइएमा ताकिएकै समयमा निर्माणकार्य सकिने बताउँदै सब वेश परिपूर्तीका लागि सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरेपनि स्थानीय नदिबाट उत्खनन् गर्न अनुमति नदिएकाले सम्झौता गरिएको मितिभित्र निर्माणकार्य नसकिने जनाए ।

फुटपाथ ३ मिटर सर्भिस लेन ७, ग्रीनबेल्ट र स्टल साढे २ मिटर र मुख्य लेन साढे १० मिटरको विस्तार हुने सडकको काम पछिल्लोसमय तीव्र गतिमा चलेपनि सब वेश (नदिजन्य पदार्थ) नहुँदा पुनः सडक अलपत्र पर्ने देखिन्छ । नदिजन्य पदार्थको खोजीमा निर्माण कम्पनी लागिपरिरहेको र आफुहरुले पनि सम्बन्धित स्थानीय तहलाई उपलब्धको लागि पहल गरेको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए ।

उक्त सडकको बिषयमा चासो राख्दै विभिन्न चरणमा सम्बन्धित निकायलाई राखेर छलफल चलाउने बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयललाई नदिजन्य पदार्थको अभाव झेल्न पुगेको सडकको निर्माणकार्य प्रभावित बन्न पुगेको र ठेकेदार पक्ष रोयल्टी तिरेर नदिजन्य पदार्थ निकाल्न तयारी हुँदासमेत किन ठेक्का नलगाइएको हो ? भन्ने प्रसंगमा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयसँग पटकपटक समय माग गर्दा व्यस्तता देखाउँदै पन्छिन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *