विश्वकै अग्लो त्रिशूल

समाचार


दाङ । दाङको धर्नामा पाण्डवेश्वर महादेव मन्दिरको आकर्षणका रुपमा विश्वकै अग्लो त्रिशूल रहेको छ । ५५.५ फिट अग्लो र ४४ इन्च गोलाइ भएको त्रिशूल २०७१ साल कात्तिकमा स्थापना गरिएको थियो । त्रिशूलमा जगको भागसहित १३ हजार ३८० किलो धातु प्रयोग भएको बताइन्छ । सात हजार ७१८ किलो फलाम, २०५ किलो तामा र १० किलो काँस प्रयोग गरिएको त्रिशूलको तौल छ टन बढी रहेको छ ।

त्रिशूल निर्माणमा सुन, चाँदी, पित्तल, तामा र फलाम प्रयोग गरिएको छ । त्रिशूल स्थापना गर्दा २०७१ सालमा पनि अर्को साजको रूख ढलाउन सकिएन । त्यसैले त्रिशूलसँगै रहेको अर्को साजको रुखलाई समेत पछिल्लो समय पूजा गर्दै आइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर अधिकारी बताउँछन् ।

उनले थपे, पहिले दिनभर काट्दा पनि नढलेको अलौकिक साजको वृक्ष र २०७१ सालमा त्रिशूल राख्दा ढाल्न नसकेको अर्को साजको वृक्ष अहिले पनि रहेका कारण यस स्थानलाई धार्मिक तपोभूमि भएको भन्न सकिन्छ । त्रिशूल स्थापनासँगै २०७५ सालदेखि नेपाली सेनाले पाण्डवेश्वर महादेव मन्दिरमा पुगेर शिवरात्रिको दिन सलामी दिने गरेको छ । शिवरात्रिका अवसरमा धारापानीमा ठुलो मेला लाग्ने गर्दछ ।

१००८ वरपिपल जोडी
धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकसित धारापानीको अर्को आकर्षण हो, मन्दिर क्षेत्रमा हुर्कंदै गरेका वरपिपल जोडी । गाउँगाउँमा सडक विकास सँगै देशैभर वरपिपल चौतारा मासिँदै गएको समयमा यहाँ १००८ वरपिपल जोडी हुर्काउने योजना छ । हुर्काइँदै छ । यो एउटा धार्मिक विश्वास, पर्यावरण चिन्तन र प्रेमको प्रतीकसमेत मानिन्छ ।

मन्दिर क्षेत्रमा रहेको खुल्ला डाँडालाई पार्कका रुपमा विकास गर्दै १००८ जोडी वरपिपल रोप्ने अभियान अन्तर्गत हालसम्म करिब सात सय बढी वरपिपल हुर्किंदै गरेको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । धार्मिक क्षेत्र भएकाले वरपिपल ओम आकारमा रोपिएका छन् । वरपिपललाई ‘ड्रोन भ्यु’ बाट हेर्दा ओम आकार देखिन्छ । वर्तमान विश्व समस्या बनेको कार्बन उत्सर्जनमा पिपलको ठुलो प्रभाव रहने भएको हुँदा बिरुवा हुर्किसकेपछि यहाँबाट प्राप्त हुने अक्सिजनले बढ्दो प्रदूषण र उच्च तापमान नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको छ ।

ऐतिहासिक पक्ष
संस्कृतिविद् प्रा.डा. शिवकुमार सुवेदीका अनुसार पाण्डवेश्वर धार्मिक क्षेत्रको ऐतिहासिक पक्ष अत्यन्त रोचक छ । मानव संस्कृतिको प्रारम्भदेखि विकाससम्मको क्रमबद्ध ढुङ्गे औजार उक्त क्षेत्रमा प्राप्त भएका छन् । धारापानी क्षेत्रमा पाइएका औजार धेरै रहेका छन् । पाण्डवेश्वर मन्दिरको पूर्वमा कुरेपानीदेखि पश्चिममा वसन्तापुरसम्मको सीमित क्षेत्रमा ती सबै चरणका प्रमाण पाइएका छन् ।

तीमध्ये पाण्डवेश्वर मन्दिरको फेदीमा रहेको गँदारीको ढुङ्गे औजार सबैभन्दा पुरानो औजार मानिएको छ । त्यसको समय करिब ८० हजार वर्ष पुरानो भएको विश्वास गरिन्छ । त्यसपछिको समयका औजारमा क्रमशः कुइरेपानी, गैराखु्टी, वसन्तापुरमा प्राप्त भएका ढुङ्गे औजार त्यो युगको अन्तिम चरणका भएको संस्कृतिविद् डा. सुवेदीले बताए । जसको इतिहास चार हजार वर्षअघिको मानिन्छ । त्यस्ताखालका औजार प्रयोगसँगै त्यस समयका मानिसले स्थायी बसोवासको प्रक्रिया तथा कृषि र पशुपालन व्यवसायको प्रारम्भ गरेको विश्वास छ ।

उनका अनुसार सम्भवतः यिनै ऐतिहासिक साक्षी प्रमाणका आधारमा पण्डित टेकनाथ गौतमले रनघरा नजिकैको भैसकुमालाई दाङमा राज्य व्यवस्थाको प्राम्भिक केन्द्र भनी उल्लेख गरेका थिए । तर थप प्रमाण अभावका कारण पुष्टि हुन भने नसकेको सुवेदीले बताए । पाण्डवेश्वर क्षेत्र मानव संस्कृतिको प्रारम्भिक केन्द्रमध्येको एक महत्वपूर्ण क्षेत्र रहेको सुवेदीको जिकिर छ ।

दाङको मात्र नभएर नेपालकै दुर्लभ उदाहरण मानिने धारापानी मन्दिरभित्रको मुख्य आकर्षण त्यसको शैव प्रतीक शिवलिङ्ग हो । जो एउटै विशाल चट्टानमा शास्त्रसम्मत रुपले पीठिका, शिवलिङ्ग, जलकुण्ड र पादुका निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *